काठमाडौं । नपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सञ्चालक, सीईओ र उच्च व्यवस्थापकीय तहमा नियुक्त हुने पदाधिकारीहरुका लागि थप कडाइ गरेको छ ।
नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागले आज इजाजतपत्रप्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८२ मा संशोधन/परिमार्जन गर्दै नयाँ व्यवस्था लागु गरेको हो ।
सम्बन्धित व्यक्तिको पारिवारिक विवरण, नेपाल वा विदेशमा कुनै कसूरमा संलग्न भए वा नभएको स्वघोषणा । यदि संलग्न भएको भए सोको विस्तृत विवरण र वर्तमान अवस्था, स्वदेश वा विदेशमा कर्जा सम्बन्धी कालोसूची वा त्यस्तै प्रकारको सूचीमा परे वा नपरेको स्वघोषणा गर्नु पर्नेसहित १० बुँदे कडा नयाँ निर्देशन जारी गरेको हो ।
यस्ता छन् १० बुँदाः
१. सम्बन्धित व्यवसाय सम्बन्धी प्रचलित कानून बमोजिमको मापदण्ड पालना गरेको स्वघोषणा,
२. सम्बन्धित व्यक्तिको पारिवारिक विवरण,
३. नेपाल वा विदेशमा कुनै कसूरमा संलग्न भए वा नभएको स्वघोषणा । यदि संलग्न भएको भए सोको विस्तृत विवरण र वर्तमान अवस्था,
४. कुनै प्रकारको मुद्दा मामिला, अनुसन्धान, वैकल्पिक विवाद समाधानको प्रक्रिया वा न्यायिक वा प्रशासनिक कारबाहीको प्रक्रियामा रहे वा नरहेको स्वघोषणा । यदि भएको भए सोको विवरण,
५. अदालत वा अधिकारप्राप्त अधिकारीको फैसला वा आदेशबमोजिम तिर्नु, बुझाउनु पर्ने राजस्व, सरकारी बाँकी बक्यौता रहे वा नरहेको स्वघोषणा,
६. स्वदेश वा विदेशमा कर्जा सम्बन्धी कालोसूची वा त्यस्तै प्रकारको
सूचीमा परे वा नपरेको स्वघोषणा,
७. स्वार्थको द्वन्द्व हुन सक्ने अवस्था विद्यमान रहे वा नरहेको विवरण,
८. नेपाली नागरिक भए निजको नेपाल बाहिर कुनै सम्पत्ति रहे वा नरहेको वा कुनै सम्पत्तिमा वास्तविक धनी वा हिताधिकारी भए वा नभएको स्वघोषणा,
९. विगतमा संलग्न भएको कार्य, संस्था, प्राप्त भएको जिम्मेवारी, पुरस्कार, सजायको अवस्था, कार्य सफलताको उदाहरण लगायतका विषय खुल्ने सम्बन्धित क्षेत्रको कार्य अनुभव सम्बन्धी विवरण,
१०. वित्तीय आचरण (फाइनान्सियल साउन्डनेस) सम्बन्धी विवरण ।


