CLI

दुई पांग्रे सवारी र पेट्रोल कारको आयात बढ्दा चार पांग्रे ईभीको आयातमा १९ प्रतिशतको गिरावट

काठमाडौं । विगत केही वर्ष देखी विद्युतीय सवारी साधन (इभी) को आयात बढेपनि यो वर्ष भने इभीको आयात घटेको छ ।  भन्सार विभागको तथ्यांकअनुसार ईभीको आयात गत वर्षको तुलनामा  १९ प्रतिशतले घटेको छ ।

भन्सार विभागको तथ्यांकअनुसार जेष्ठ मसान्तसम्म विभिन्न देशबाट १० हजार ८४५ वटा विद्युतीय कार आयात भएका छन्। यस वर्ष २७ अर्ब ४ करोड १३ लाख ३९ हजार रुपैयाँ बराबरको ईभी आयात भएको छ, जसबाट सरकारले १५ अर्ब ४७ करोड ६२ लाख ३५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। गत वर्ष ८१/८२ को जेठसम्म २५ अर्ब ५५ करोड ९९ लाख १६ हजार रुपैयाँ बराबरको १३ हजार ४८३ वटा विद्युतीय गाडी आयात भएको थियो।

चालु आवको जेष्ठभित्र चीनबाट ७ हजार ६४८ वटा ईभी ७ अर्ब २८ करोड ३७ लाख ४० हजार रुपैयाँ बराबरमा आयात गरिएको छ, जसबाट मात्रै ११ अर्ब १३ करोड ८३ लाख २६ हजार रुपैयाँ राजस्व संकलन भएको छ। यसैगरी भारतबाट ४ अर्ब ८३ करोड ४२ लाख ३९ हजार रुपैयाँ मूल्य बराबरको २ हजार ३३७ वटा ईभी र थाइल्यान्डबाट २ अर्ब ३६ करोड ७५ लाख ७२ हजार रुपैयाँ बराबरको ८२४ वटा विद्युतीय गाडी नेपाल आयात गरिएको छ।

यसै अवधिमा पेट्रोल कारको आयात भने बढेको छ। यस वर्षको ११ महिनामा ४ हजार ५७४ युनिट पेट्रोल कार आयात भएको छ, जबकि गत वर्ष जेठसम्म कुल ३ हजार ७६१ युनिट पेट्रोल कार आयात भएको थियो। ११ महिनामा कुल ४ हजार ५७४ युनिट पेट्रोल कार आयात हुँदा २ हजार ९६ युनिट अनएसेम्बल कार आयात भएको विभागको तथ्यांक छ।

चार पांग्रेको तुलनामा चालू आर्थिक वर्षमा दुई पांग्रे सवारी साधनको आयात भने उल्लेख्य रुपमा बढेको छ। ११ महिनाको अवधिमा पेट्रोल र ईभी दुवै गरी कुल २ लाख ५० हजार १८१ युनिट मोटरसाइकल तथा स्कुटर आयात भएको छ, जुन गत वर्षको तुलनामा ३४.१९ प्रतिशत अर्थात् ६३ हजार ७५५ युनिटले बढी हो।

गत वर्ष ११ महिनामा १ लाख ८६ हजार ४२६ युनिट मोटरसाइकल र स्कुटर आयात भएको थियो। चालू आर्थिक वर्षमा २९ अर्ब ९० करोड १० लाख रुपैयाँ बराबरको २ लाख २७ हजार ९४१ युनिट इन्धन (पेट्रोल) बाइक तथा स्कुटर आयात भएका छन्, जसबाट सरकारले २८ अर्ब ९३ करोड ३० लाख रुपैयाँ राजस्व संकलन गरेको छ।

यसैगरी, ११ महिनाको अवधिमा २ अर्ब २९ करोड ७१ लाख रुपैयाँ बराबरको २२ हजार २४० युनिट दुई पांग्रे ईभी बाइक तथा स्कुटर आयात भएको छ, जसबाट सरकारले ८० करोड ४४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। गत वर्षको तुलनामा यस वर्ष ११ हजार ६८९ युनिट धेरै दुई पांग्रे ईभी आयात भएको हो। गत वर्षको सोही अवधिमा ९९ करोड ४९ लाख रुपैयाँ बराबरको १० हजार ५५१ युनिट ईभी बाइक तथा स्कुटर आयात भएको थियो, जसबाट सरकारले ३५ करोड ४ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो।

विभागका अनुसार चालू आवमा आयात भएका दुई पांग्रे सवारीमध्ये अनएसेम्बलको हिस्सा ८२.४४ प्रतिशत रहेको छ। ११ महिनामा २ लाख ६ हजार ३४७ युनिट अनएसेम्बल दुई पांग्रे सवारी आयात हुँदा ४३ हजार ९३४ युनिट तयारी अवस्थाका मोटरसाइकल तथा स्कुटर आयात भएको हो। हाल नेपालमा आधा दर्जनभन्दा बढी ब्रान्डका दुई पांग्रे सवारी उत्पादन हुने गरेका छन् र अहिले रोयल इनफिल्ड, बजाज, टीभीएस, यामाहा, हिरो, होण्डा, सीएफमोटो लगायतका ब्रान्डका मोटरसाइकल/स्कुटर नेपालमै एसेम्बल हुन्छन्।

Leave Your Comment

Related News