काठमाडौं । सुनको मूल्य निरन्तर बढ्दा पनि सुन चाँदी कर्जा लिने ऋणीहरु भने हिच्कीचाएका छैनन् । यस वर्ष सुनको मुल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय पुगी सबैभन्दा उच्च मुल्य कायम हुन पुग्यो ।
इरान र अमेरिका तथा इजरयाल बीच भएको द्धुन्द्धका कारण विश्व बजारमा साथै नेपालमा पनि सुनको मुल्य निरन्तर बढ्न पुग्यो । जसका कारणले गर्दा पहिलो पटक माघ १५ गते नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय कायम भयो । इरान युद्धको निरन्तरताका कारण सुनको मुल्यमा ह्रास आउन नसक्दा प्रतितोला ३ लाख माथि नै सुनको मुल्य रह्यो ।
सुनको मुल्य उच्च भइरहँदा पनि ऋणीहरुले कर्जा भने निरन्तर लगिरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । नेपालको बजारमा विशेष गरी सुनको मुल्य बढिरहँदा पनि सनुचाँदी कर्जा विस्तार भने नरोकिएको राष्ट्र बैंकको अधिकारीहरु बताउछन् । अधिकारीहरुका अनुसार सुनको मुल्यवृद्धि सँगै सुनचाँदी कर्जा विस्तार पनि बढेको छ । विशेष गरी वाणिज्य बैंक र विकास बैंकका ग्राहकहरुले सुनचाँदी कर्जा बढी माग गरेको थिए, अधिकारीहरुले भने ।
यसैबीच राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना (वैशाखममसान्त) को अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले सुनचाँँदी कर्जास्वरुप १ खर्ब १७ अर्ब ८९ करोड रुपैयाँ वितरण गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४१ अर्ब ४३ करोड रुपैयाँले बढी हो । गत आर्थिक वर्षको २०८१/८२ को १० महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले सुनचाँदी कर्जास्वरुप ७६ अर्ब ४५ करोड रुपैयाँ वितरण गरेको थियो ।
राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंकले सुुनचाँदी कर्जा प्रवाहलाई बढाउदा वित्त कम्पनीले भने घटाएको छ ।
चालु आर्थिक वर्षको १० महिनामा वाणिज्य बैंकले सुनचाँदी कर्जास्वरुप १ खर्ब ९ अर्ब रुपैयाँ वितरण गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८ अर्ब ५४ रुपैयाँले बढी हो । गत आर्थिक वर्षको १० महिनाको अवधिमा वािणज्य बैंकले सुनचाँदी कर्जास्वरुप ७० अर्ब ४५ करोड रुपैयाँ वितरण गरेको थियो ।
वाणिज्य बैंक र विकास बैंकले सुनचाँदीमा कर्जा प्रवाह वृद्धिगर्दा वित्त कम्पनीहरुले भने घटाएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको १० महिनामा विकास बैंकले सुनचाँदी कर्जास्वरुप ८ अर्ब एक करोड ९० लाख रुपैयाँ वितरण गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २ अर्ब ९१ करोड ९० लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको १० महिनाको अवधिमा विकास बैंकले सुनचाँदी कर्जास्वरुप ५ अर्ब १० करोड रुपैयाँ वितरण गरेको थियो ।
चालु आर्थिक वर्षको १० महिनाको अवधिमा वित्त कम्पनीहरुले सुनचाँदी कर्जास्वरुप ८७ करोड रुपैयाँ वितरण गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनाा ३ करोड रुपैयाँले कम हो । गत आर्थिक वर्षको १० महिनाको अवधिमा वित्त कम्पनीहरुले सुनचाँदी कर्जास्वरुप ९० करोड रुपैयाँ वितरण गरेको थियो ।
सस्तो ब्याजदर तथा सहजै रुपमा पाइने भएका कारण सुनचाँदी धितोमा अधिकांशले कर्जा लिने गरेका छन्। सुन धितो राखेर कर्जा लिँदा बैंकहरूले बजार मूल्यको ५० देखि ७० प्रतिशत रकम दिने गरेकाले पनि यस्तो कर्जामा आकर्षण बढेको देखिन्छ ।
बैंकहरूले सुन धितोमा राखी कर्जा प्रवाह गर्दा बजार मूल्यका आधारमा धितो मूल्यांकन गर्ने गर्छन्। बजारमा सुनको मूल्य घटबढ भइरहँदा मूल्यांकन समेत घटबढको अवस्था रहँदा यस क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी बढ्दै गएको बैंकले जनाएको छ। इरान र अमेरिका तथा इजरायलबीचको युद्ध समाप्त अर्थात् युद्धविराम भएको छ । जसले गर्दा सुनचाँदीको मुल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला १६०० रुपैयाँले घटेको छ । यस दिन सुन प्रतितोला २ लाख ८७ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला २ लाख ८८ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य पनि १४० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ४ हजार ५९० रुपैयाँमा कारोबार भइरहेको छ । भने हिजो चाँदी प्रतितोला ४हजार ७३० रुपैयाँमा कारोबार भएको थियो ।


