काठमाडौं । नेपालमा सञ्चालित बहुराष्ट्रिय तथा ठुला स्वदेशी कम्पनीहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार र वातावरण संरक्षणका क्षेत्रमा करोडौँ रुपैयाँ खर्च गरेका छन्। आर्थिक वर्ष २०८१/८२ को नाफाबाट यी कम्पनीहरुले विभिन्न सामाजिक कार्यक्रमहरु आयोजना गरी आफ्नो उत्तरदायित्व पुरा गरेको तथ्याङ्कले देखाउँछ ।
औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ५४ को कानुनी व्यवस्था बमोजिम ऐन अनुसार तोकिएको मापदण्ड भित्र पर्ने उद्योग वा कम्पनीहरुले प्रत्येक आर्थिक वर्षको खुद मुनाफाको कम्तीमा १ प्रतिशत रकम सामाजिक उत्तरदायित्वका लागि छुट्ट्याई तोकिएका क्षेत्रमा खर्च गर्नुपर्ने अनिवार्य व्यवस्था छ। सोही व्यवस्था अनुरुप युनिलिबर, दराज, एनसेल, वर्ल्डलिङ्क, टाटा र डाबर जस्ता स्थापित कम्पनीहरुले सामाजिक कार्यमा लगानी गरेका छन् ।
गोर्खा ब्रेवरीद्वारा साढे १७ करोड बढी सहयोग
यस वर्ष सामाजिक उत्तरदायित्वमा सबैभन्दा ठुलो रकम खर्च गर्नेमा गोर्खा ब्रेवरी अग्रस्थानमा देखिएको छ। आर्थिक वर्ष २०८१/८२ मा ५ अर्ब ५३ करोड २१ लाख ६४ हजार ५९९ रुपैयाँ खुद नाफा कमाएको कम्पनीले ५ करोड ५३ लाख २१ हजार ६४६ रुपैयाँ छुट्याएको थियो । त्यसतै, कम्पनीको सामाजिक उत्तरदायित्वमा कोषमा भएको १८ करोड ४५ लाख २२ हजार ८८६ रुपेयाँ बाट सामाजिक सामाजिक उत्तरदायित्वमा कुल १७ करोड ६५ लाख रुपैयाँ बराबरको खर्ज गरेको छ । जसमध्ये नवलपरासीमा शैक्षिक विकासका लागि २ करोड ८ लाख, विपद् रोकथामका लागि ८ करोड ४७ लाख ५० हजार र काठमाडौँ जिल्लामा फोहोरमैला व्यवस्थापनका लागि ३ करोड रुपैयाँ खर्च गरिएको छ।
एनसेलले आगामी वर्ष ४ करोड १९ लाख खर्च गर्ने
दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आर्थिक वर्ष २०८१/८२ मा सामाजिक उत्तरदायित्वका लागि ३ करोड ८६ लाख ७४ हजार ९४८ रुपैयाँ छुट्ट्याएकोमा ३२ लाख ८३ हजार १८३ रुपैयाँ बाकी रहेको छ । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि एनसेलले सोही बाँकी रकम समेत थप गरेर कुल ४ करोड १९ लाख ५८ हजार ९० रुपैयाँ खर्ज गरेको छ ।
डाबर नेपालद्वारा लक्ष्यभन्दा बढी खर्च
डाबर कम्पनीले आव २०८१/८२ मा १ करोड ४७ लाख ५६ हजार रुपैयाँ खर्च गर्ने योजना बनाएकोमा लक्ष्यभन्दा बढी अर्थात् २ करोड २४ लाख ९५ हजार रुपैयाँ खर्च गरेको विवरण देखिएको छ। यता युनिलिबर नेपालले आव २०८१/८२ को मुनाफाबाट ३ करोड ९८ लाख २० हजार ६३१ रुपैयाँ छुट्ट्याएकोमा १ करोड २९ लाख २२ हजार २२१ रुपैयाँ खर्च गरेको छ।
वर्ल्डलिङ्कको खर्च र अन्य साझेदारी
इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्कले आव २०८१/८२ को खुद नाफाबाट ४० लाख ६४ हजार ८०० रुपैयाँ खर्च गर्ने योजना बनाएकोमा वर्षको अन्त्यसम्म ३७ लाख ५ हजार ५२६ रुपैयाँ खर्च गरेको छ। यसका साथै वर्ल्डलिङ्कले ‘पोज नेपाल’ सँगको साझेदारीमा स्यानिटरी प्याड कार्यशाला निर्माणका लागि ४७ लाख छुट्ट्याएकोमा १ लाख १० हजार २५० रुपैयाँ खर्च गरेको छ भने लुम्बिनी कोषमा वृक्षरोपणका लागि ५० हजार छुट्ट्याएर २० हजार रुपैयाँ उपयोग गरेको छ। यस्तै, नवप्रवर्तन कार्यक्रमका लागि विनियोजित ६ लाख ५० हजार रुपैयाँ बराबरको रकम भने पूर्ण रूपमा खर्च भएको छ।
यसैगरी, टाटा मोटर्सले आर्थिक वर्ष २०८०/८१ मा प्राकृतिक प्रकोपमा उद्धार, सीपमूलक तथा आयमूलक कार्यक्रम, शैक्षिक विकास, वृक्षरोपण एवं स्वास्थ्य तथा सरसफाइ कार्यक्रममा ५ लाख ३६ हजार ३७५ रुपैयाँ खर्च गरेको उद्योग विभागको तथ्याङ्कले देखाउँछ।


