CLI

आयरल्यान्डसँग फेरि पराजित भारतले सिरिज गुमायो

काठमाडौं । आयरल्यान्डले लगातार दोस्रो खेलमा भारतलाई हराउँदै टि ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज २–० ले जितेको छ । विश्व च्याम्पियन भारतविरुद्ध आयरल्यान्डको यो पहिलो सिरिज जित हो।

बेलफास्टमा आइतबार भएको दोस्रो तथा अन्तिम खेलमा आयरल्यान्डले भारतमाथि १ रनले रोमान्चक जित निकाल्यो । पहिले ब्याटिङ गरेको आयरल्यान्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५४ रन बनायो। कप्तान ह्यारी टेक्टरले ५३ रन बनाए । बेन्जामिन कालिट्जले ३७ रन जोडे। भारतका लागि डेब्यु गरेका प्रिन्स यादवले ३ र शिवम दुबेले २ विकेट लिए।

१ सय ५५ रनको लक्ष्य पछ्याएको भारतको सुरुआत निकै खराब रह्यो। जय मुन्द्राले पहिलो बलमै सञ्जु स्यामसनलाई एलबीडब्ल्यू आउट गरे । त्यसपछि अभिषेक शर्मा पनि पहिलो बलमै आउट भए। केहीबेरमै कप्तान श्रेयस अय्यर पनि पेभिलियन फर्किएपछि भारत ३५ रनमै ४ विकेट गुमाएर दबाबमा परेको थियो।

तिलक वर्मा र अक्षर पटेलले इनिङ्स सम्हाल्ने प्रयास गरे। वर्षाका कारण केही समय खेल रोकिए पनि लक्ष्य परिवर्तन भएन। तिलकले ५५ रन बनाउँदै भारतलाई जिततर्फ लैजाने प्रयास गरे तर उनको विकेटपछि भारत फेरि दबाबमा पर्यो।

अन्तिम ओभरमा भारतलाई २१ रन आवश्यक थियो। हर्षित राणाले १ छक्का र १ चौका प्रहार गर्दै खेल रोमाञ्चक बनाए । अन्तिम दुई बलमा ८ रन चाहिएको अवस्थामा राणा आउट भए। अन्तिम बलमा प्रिन्स यादवले छक्का प्रहार गरे पनि भारत १ रनले पराजित भयो । आयरल्यान्डका जय मुन्द्रा र म्याथ्यु होलार्डले समान ३ विकेट लिएर टोलीको ऐतिहासिक जितमा मुख्य भूमिका खेले।

योसँगै आयरल्यान्डले भारतविरुद्ध पहिलो पटक अन्तर्राष्ट्रिय सिरिज जितेको छ। साथै भारतको टि‌ ट्वान्टी क्रिकेटमा लगातार १६ सिरिज वा प्रतियोगितासम्म अपराजित रहने यात्रा पनि समाप्त भएको छ। भारतले यसअघि सन् २०२३ मा वेस्ट इन्डिजसँग टि ट्वान्टी सिरिज गुमाएको थियो।

Leave Your Comment

Related News