काठमाडौं । सरकारी स्वामित्वको नेपाल बैंकले ऋण असुलीका लागि सिन्धुपाल्चोकस्थित राखेको छ। पटक–पटक कर्जा नियमित गर्न ताकेता गर्दा पनि ऋणी पक्षबाट भुक्तानी नभएपछि बैंकले सार्वजनिक बोलकबोलमार्फत सम्पत्ति बिक्री प्रक्रिया अघि बढाएको हो।
बैंकले जारी गरेको सूचनाअनुसार रिसोर्टको करिब ३५ रोपनी जग्गा, त्यसमा निर्माण गरिएका भवन तथा रिसोर्टसँग सम्बन्धित सम्पूर्ण स्थायी संरचना बिक्रीका लागि १५ दिनभित्र बोलकबोल आवेदन माग गरिएको छ। इच्छुक व्यक्ति वा संस्थाले असार २९ गतेसम्म प्रस्ताव दर्ता गर्न सक्नेछन्। सबैभन्दा बढी मूल्य प्रस्ताव गर्ने बोलकबोलकर्ताले स्वीकृत भएको दिन नै कबोल रकमको १० प्रतिशत धरौटी बैंकमा नगद जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ।
यसअघि असार ५ गते नै लिलामी प्रक्रिया सम्पन्न गर्ने तयारी गरिए पनि आवश्यक प्रक्रिया पूरा हुन नसक्दा स्थगित गरिएको थियो। त्यसपछि बैंकले पुनः सूचना प्रकाशित गर्दै लिलामी प्रक्रिया अघि बढाएको हो।
नेपाल बैंकले यसअघि २०८२ जेठ १ र जेठ २७ गते दुई चरणमा सार्वजनिक सूचना जारी गर्दै ऋणी पक्षलाई कर्जा चुक्ता गर्न ३५–३५ दिनको समय दिएको थियो। तोकिएको अवधिमा ऋण भुक्तानी नभए धितो सम्पत्ति लिलामी गर्नुका साथै कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश गरी कानुनी प्रक्रिया अघि बढाइने चेतावनी पनि बैंकले दिएको थियो।
बैंकका अनुसार रिसोर्ट सञ्चालकसँग पटक–पटक सम्पर्क, पत्राचार र ताकेता गर्दा पनि कर्जा नियमित नभएकाले धितो सम्पत्ति बिक्रीमार्फत ऋण असुली गर्ने निर्णय गरिएको हो। रिसोर्टले व्यापारिक आवधिक कर्जा र चालु पूँजी कर्जाअन्तर्गत नेपाल बैंकबाट ३२ करोड रुपैयाँ ऋण लिएको थियो।
हाल रिसोर्टमा २४ वटा कोठा मात्र सञ्चालनमा रहेका छन्। बैंकले मूलधनसँगै ५ करोड ६६ लाख रुपैयाँ ब्याज र १ करोड १८ लाख रुपैयाँ जरिबानासहित कुल ३९ करोड ५४ लाख रुपैयाँ असुली प्रक्रिया अघि बढाएको जनाएको छ।
२०७८ सालदेखि सञ्चालनमा आएको भोटेकोसी हेली रिसोर्टलाई चारतारे स्तरको पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको थियो। रिसोर्टका अध्यक्ष चीनबहादुर रानाभाट हुन् भने सञ्चालकमा छिरिङ शेर्पा, सुवास प्रधान र समिरकुमार नेपाल रहेका छन्।


