काठमाडौं । बझाङको छविसपाथिभेरा गाउँपालिका–६ स्थित बाँठपाली देवता मन्दिर निर्माण योजनामा २२ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
उक्त आरोपमा अख्तियारले सोमबार ९ जना विरुद्ध भ्रष्टचार मुद्धा दायर दायर गरेको हो । दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल, लेखापाल प्रेम प्रसाद पौडेल, छविसपाथीभेरा गाउँपालिकाका इन्जिनियर हिक्मत रावल र सवइन्जिनियर बम बहादुर बोहरा विरुद्ध मुद्धा दायर गरिएको हो ।
त्यस्तै छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रताला र वडा नं. 6 का वडा अध्यक्ष मोहन लाल वि.क, श्री बाँठपाली देवता मन्दिर निर्माण समितिका अध्यक्ष कृष्ण बहादुर बुढा भन्ने कृष्ण बुढा, सचिव जय बहादुर बुढा र कोषाध्यक्ष मधुली देवी बुढा विरुद्ध मुद्धा दायर गरिएको हो ।
आयोगका अनुसार आर्थिक वर्ष २०७५/७६ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत नयाँ पर्यटन गन्तव्यको विकास गर्ने उद्देश्यले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उक्त मन्दिर निर्माणका लागि ४५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो।
अनुसन्धानका क्रममा मन्त्रालयबाट निकासा भएको बजेटको खर्च, लेखा तथा लेखापरीक्षणको जिम्मेवारी दुर्गाथली गाउँपालिकालाई दिइएको र निर्माण कार्यको प्राविधिक मूल्याङ्कन तथा अनुगमन छविसपाथिभेरा गाउँपालिकाबाट गरिएको पाइएको आयोगले जनाएको छ।
स्वीकृत लागत अनुमान ५६ लाख ७ हजार ८९७ रुपैयाँ ८० पैसामध्ये ४५ लाख रुपैयाँ नेपाल सरकारको बजेट, ११ लाख ७ हजार ८९७ रुपैयाँ ८० पैसा उपभोक्ता सहभागिता र २ लाख २५ हजार रुपैयाँ कन्टिन्जेन्सी शीर्षकमा रहेको थियो। मन्दिर निर्माण कार्य २०७६ असार २५ गतेसम्म सम्पन्न गर्ने गरी २०७५ चैत २६ गते उपभोक्ता समितिसँग सम्झौता गरिएको थियो।
आयोगका अनुसार निर्माण कार्यका क्रममा वास्तविकभन्दा बढी काम भएको देखाउने, अस्वाभाविक दररेट कायम गर्ने, सम्झौताअनुसारको जनसहभागिताको रकम कम कट्टा गर्ने तथा झुट्टा बिल–भरपाई तयार गरी जम्मा २२ लाख १ हजार ६६५ रुपैयाँ बढी भुक्तानी गरिएको पुष्टि भएको छ।
यस प्रकरणमा दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकरबहादुर मण्डेल, छविसपाथिभेरा गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष राधिका कुमारी रताला लगायत प्रतिवादीहरूले आपसी मिलेमतोमा गैरकानुनी लाभ लिई नेपाल सरकारलाई हानि पुर्याएको आरोप आयोगले लगाएको छ।
आयोगले घटनामा संलग्न प्रतिवादीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐनबमोजिम सजायको माग गर्दै बिहीबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ।


