CLI

बैंकमा लगानीयोग्य रकम फालाफाल, कर्जाको माग सुस्त हुँदा सीडी रेसियो ५० प्रतिशत भन्दा तल झर्यो

काठमाडौं । वाणिज्य बैंकहरुको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) जेठ महिनामा पनि घटेको छ । वैशाखमा ७२.७५ प्रतिशत रहेको औसत सीडी रेसियो जेठमा ७२.४२ प्रतिशतमा झरेको हो । एक महिनाको अवधिमा सीडी रेसियो ०.३३ प्रतिशत बिन्दुले घटेको हो । तथ्यांकअनुसार २० वाणिज्य बैंकमध्ये १२ बैंकको सीडी रेसियो घटेको छ भने ८ बैंकको बढेको छ । स्ट्यान्डर्ड चार्टर्डको सीडी ५० प्रतिशत भन्दा तल झरेको छ । उक्त रेसियो घट्नुले बैंकिङ प्रणालीमा तरलता सहज बन्दै गएको संकेत गरेको छ ।

पछिल्लो साढे तीन वर्षयता बैंकिङ प्रणाली निरन्तर अधिक तरलताको चापमा छ । कर्जा विस्तारको गति सुस्त रहँदा र निक्षेप संकलन लगातार बढिरहँदा बैंकहरुको सीडी रेसियो क्रमशः घट्दै गएको हो । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई १०० रुपैयाँ निक्षेप संकलन गर्दा ९० रुपैयाँसम्म कर्जा लगानी गर्न सक्ने व्यवस्था गरेको छ। अर्थात् बैंकहरुले अधिकतम ९० प्रतिशतसम्म सीडी रेसियो कायम गर्न पाउँछन्। तर हाल औसत सीडी रेसियो ७२.४२ प्रतिशतमा सीमित रहनुले बैंकहरुसँग ठूलो परिमाणमा लगानीयोग्य रकम बाँकी रहेको देखाउँछ।

जेठ महिनामा सबैभन्दा उच्च सीडी रेसियो एनएमबी बैंकको ८४.१३ प्रतिशत रहेको छ। त्यसपछि प्राइम कमर्सियल बैंकको ८३.४३ प्रतिशत, सानिमा बैंकको ८२.७७ प्रतिशत, एभरेष्ट बैंकको ८१.८६ प्रतिशत तथा नबिल बैंकको ८०.०३ प्रतिशत सीडी रेसियो रहेको छ ।

यता सबैभन्दा कम सीडी रेसियो स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको ४८.३० प्रतिशत रहेको छ। राष्ट्रिय वाणिज्य बैंकको ५५.७८ प्रतिशत, एनआईसी एशिया बैंकको ६२.५७ प्रतिशत, नेपाल बैंकको ६६.२३ प्रतिशत तथा कृषि विकास बैंकको ६८.७७ प्रतिशत सीडी रेसियो रहेको छ।

केही बैंकहरुले औसतमा १०० रुपैयाँ निक्षेप संकलन गर्दा ६० रुपैयाँ पनि कर्जाका रुपमा परिचालन गर्न नसकेको तथ्यांकले देखाउँछ। जेठमा सबैभन्दा धेरै सीडी रेसियो कृषि विकास बैंकको बढेको छ। बैंकको सीडी रेसियो वैशाखको ६५.८५ प्रतिशतबाट बढेर ६८.७७ प्रतिशत पुगेको छ। माछापुच्छ्रे बैंकको सीडी रेसियो २.०४ प्रतिशत बिन्दुले बढेर ७९.१८ प्रतिशत पुगेको छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सीडी रेसियो १.०२ प्रतिशत बिन्दुले बढेर ६९.१७ प्रतिशत पुगेको छ। यसैगरी नबिल बैंक, एनआईसी एशिया बैंक, प्राइम कमर्सियल बैंक, लक्ष्मी सनराइज बैंक तथा नेपाल एसबीआई बैंकको सीडी रेसियोमा पनि सामान्य वृद्धि भएको छ ।

यता, स्ट्यान्डर्ड चार्टर्ड बैंकको सीडी रेसियो सबैभन्दा धेरै २.८६ प्रतिशत बिन्दुले घटेको छ। एभरेष्ट बैंकको १.९३ प्रतिशत बिन्दुले, कुमारी बैंकको १.५७ प्रतिशत बिन्दुले, सिटिजन्स बैंक इन्टरनेसनलको १.४६ प्रतिशत बिन्दुले तथा सिद्धार्थ बैंकको १.२८ प्रतिशत बिन्दुले सीडी रेसियो घटेको छ। ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, प्रभु बैंक, एनएमबी बैंक, सानिमा बैंक र राष्ट्रिय वाणिज्य बैंकको सीडी रेसियोमा पनि गिरावट देखिएको छ।

बैंकिङ क्षेत्रका जानकारहरुका अनुसार सीडी रेसियो घट्नुले बैंकहरुसँग लगानीयोग्य रकम पर्याप्त रहेको संकेत गर्छ। निक्षेपको ठूलो हिस्सा कर्जाका रुपमा परिचालन हुन नसक्दा बैंकहरुको वित्तीय प्रतिफलमा दबाब परेको छ भने निक्षेपको ब्याजदर पनि क्रमशः घट्दै गएको छ। बैंकहरुमा थुप्रिएको रकम उत्पादनशील क्षेत्रमा परिचालन हुन नसक्दा तरलता बसिरहेको अवस्था देखिएको छ।

असार महिनामा बैंकहरु सामान्यतया कर्जा विस्तारभन्दा निक्षेप व्यवस्थापन, तरलता सन्तुलन र वित्तीय वर्षअन्तका सूचक सुधारमा केन्द्रित हुने भएकाले आगामी महिनामा पनि सीडी रेसियोमा ठूलो सुधार आउने सम्भावना कम देखिएको छ। बैंकिङ च्यानलमा १३ खर्ब भन्दा धेरै लगानीयोग्य रकम रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार  बैंकिङ प्रणालीमा ८० खर्ब ८२ अर्ब रुपैयाँ निक्षेप छ । ५९ खर्ब २८ अर्ब कर्जा प्रवाह भएको छ ।

CD ratio Of Banks (%)
Bank Name Baishakh Jestha Change
Agricultural Development Bank Limit… 65.85 68.77 2.92
Citizens Bank International Limited 80.71 79.25 -1.46
Everest Bank Limited 83.79 81.86 -1.93
Global IME Bank Limited 70.5 69.65 -0.85
Himalayan Bank Limited 74.43 73.62 -0.81
Kumari Bank Limited 74.72 73.15 -1.57
Laxmi Sunrise Bank Limited 75.83 76.05 0.22
Machhapuchchhre Bank Limited 77.14 79.18 2.04
Nabil Bank Limited 79.73 80.03 0.3
Nepal Bank Limited 66.29 66.23 -0.06
Nepal Investment Mega Bank Limited 68.15 69.17 1.02
Nepal SBI Bank Limited 68.66 68.71 0.05
NIC ASIA Bank Limited 62.25 62.57 0.32
NMB Bank Limited 84.63 84.13 -0.5
Prabhu Bank Limited 69.96 69.42 -0.54
Prime Commercial Bank Limited 83.15 83.43 0.28
Rastriya Banijya Bank Limited 56.92 55.78 -1.14
Sanima Bank Limited 83.6 82.77 -0.83
Siddhartha Bank Limited 77.55 76.27 -1.28
Standard Chartered Bank Nepal Limit… 51.16 48.3 -2.86
Average CD Ratio 72.75 72.42 -0.33

Leave Your Comment

Related News