CLI

सामान्य प्रशासन मन्त्रालयले कर्मचारीका लागि बनायो आचारसंहिता, के-के छ आचारसंहिता भित्र ? विस्तृृतमा

काठमाडौं ।भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहत कर्मचारीहरूका लागि नयाँ आचारसंहिता लागू गरेको छ । मन्त्रालयका कर्मचारीहरूको आचरण र व्यवहारलाई निष्पक्ष, सदाचारयुक्त, अनुशासित, मर्यादित र सेवामूलक बनाई कार्यसम्पादन र सेवाप्रवाहमा प्रभावकारिता ल्याउने उद्देश्यले आचारसंहिता बनाएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयबाट जारी गरिएको आचारसंहिता मन्त्री स्तरिय निर्णय गरेर स्वीकृत गरिएको हो । यस अघि श्रम तथा रोजगार मन्त्रालयले पनि मातहत कर्मचारीको लागि आचारसंहिता जारी गरेको थियो । मन्त्रालयको सुशासन प्रवद्र्धन शाखाले २०८३ असार २२ मा परिपत्र गरेर कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

मन्त्रालयबाट जारी गरिएको यो आचारसंहिता मन्त्रालयमा कार्यरत स्थायी, करारका कर्मचारी, मन्त्रालयमा अन्यत्र काजमा खटिएर आएका कर्मचारीले अनिवार्य लागु हुनेछ । जारी आचरसंहिता अनुसार कर्मचारीहरूले सेवाग्राहीलाई धर्म, वर्ण, लिङ्ग, जातजाति, क्षेत्र, भाषा वा आस्थाका आधारमा कुनै भेदभाव नगरी सेवा प्रवाह गर्नुपर्ने उल्लेख छ । यसका साथै आर्थिक–सामाजिक रूपमा पछि परेका र सीमान्तकृत वर्गलाई विशेष प्राथमिकता दिनुपर्ने व्यवस्था गरिएको छ । मन्त्रालयले कर्मचारीलाई आचारसंहिता मार्फत कार्यालय समयको पूर्ण पालना गर्नुपर्ने, तोकिएको पोशाक र परिचयपत्र अनिवार्य लगाउनुपर्ने तथा कार्यालय समयमा बाहिर जाँदा सुपरिवेक्षकको अनुमति लिएर ‘लगबुक’ भरेर मात्र जानुपर्ने नियम बनाएको छ ।

मन्त्रालयले राष्ट्र सेवक कर्मचारीले सामाजिक सञ्जालको प्रयोग सम्बन्धी पनि विषय समावेश गरेको छ । आचारसंहितामा उल्लेख भए अनुसार कर्मचारीले सामाजिक सञ्जाल तथा सार्वजनिक सूचना संयन्त्र प्रयोग गर्दा उच्च सतर्कता अपनाउनु पर्नेछ । कर्मचारीले नेपाल सरकार वा मन्त्रालयको निर्णयको गलत अर्थ लाग्ने गरी भ्रामक सूचना फैलाउन नपाउने व्यवस्था गरिएको छ ।

कर्मचारीले  काम गर्ने सिलसिलमा आफुलाई परेको पीरमर्का वा मन्त्रालयसँगको गुनासो सामाजिक सञ्जालमा नराखी मन्त्रालयको गुनासो सुनुवाइ संयन्त्र समक्ष राख्नुपर्नेछ । साथै कर्मचारीले कार्यालय पोशाकमा कार्यालयसँग सम्बन्धित प्रवद्र्धनात्मक वा शिक्षामूलक बाहेकका फोटो वा भिडियो सामाग्री (टिकटक आदि) बनाउन वा सामाजिक सञ्जालमा राख्न पूर्ण प्रतिबन्ध लगाइएको छ ।

मन्त्रालयको काममा असर नपर्ने गरी आफ्नो विशेषज्ञताको विषयमा प्रवचन दिने, अध्ययन अनुसन्धान गर्ने, साहित्य, कला, खेलकुद तथा सामाजिक संस्थामा सहभागिता जनाउने र सरकारको नीति विपरीत नहुने गरी लेख रचना प्रकाशित गर्ने कार्यलाई भने आचरण विपरीत नमानिने उल्लेख गरिएको छ ।

कर्मचारीआचारसंहिताको पालना गरे नगरेको अनुगनम सचिव वा सचिवले तोकेको अधिकृतले गर्ने उल्लेख गरिएको छ ।

Leave Your Comment

Related News