CLI

पूँजीकरण र नाफामा सुधार एसँगै नेपाल बैंकको रेटिङमा सुधार

काठमाडौं । इक्रा नेपालले नेपाल बैंक लिमिटेडको ‘घट्न सक्ने संकेतसहितको निगरानी’ लाई हटाउँदै यसको रेटिङलाई ‘ए’ मा यथावत राखेको छ। बैंकको पूँजीकरण र नाफामा आएको सुधार यसको मुख्य कारण हुन्। कम जोखिमभार पर्ने सुन धितो कर्जाको वृद्धि र घटेको कर्जा नोक्सानी व्यवस्थाका कारण बैंकको प्राथमिक पूँजी बढेर १०.३७% पुगेको छ।

यस अवधिमा कर्जा प्रवाह १५% ले बढे पनि जोखिमभारित सम्पत्ति केवल ०.७% ले मात्र बढेकाले पूँजी व्यवस्थापन सहज भएको हो। बैंकमा नेपाल सरकारको ५१% नियन्त्रणकारी सेयर स्वामित्व रहनु, लामो व्यावसायिक इतिहास र विस्तृत शाखा सञ्जाल हुनु यसका बलिया पक्ष हुन्। साथै, उद्योगको औसत ५२% को तुलनामा बैंकको चल्ती तथा बचत खाता निक्षेप ६२% रहनु र शीर्ष २० निक्षेपकर्तामा निर्भरता ८% मात्र हुनुले बैंकको ब्याज खर्च र आधार दरलाई न्यून राख्दै प्रतिस्पर्धी क्षमता बढाएको छ।

बैंकको तरलता अवस्था पनि मजबुत छ, जसको तरल सम्पत्ति अनुपात ४०% र कर्जा-निक्षेप अनुपात ६६% को सुरक्षित स्थानमा छ। सुधारिएको राजनीतिक वातावरणले बैंकिङ क्षेत्रमा थप नीतिगत स्थिरता ल्याउने अपेक्षा गरिएको छ।

यति हुँदाहुँदै पनि बैंकको कर्जा गुणस्तरमा भने निरन्तर दबाब देखिन्छ। बैंकको निष्क्रिय कर्जा ४.९६% को उच्च स्तरमै छ भने भाखा नाघेको कर्जा १८% बाट बढेर २०% पुग्नुले आगामी दिनमा कर्जाको गुणस्तरमा चिन्ता थपेको छ। तर, कर्जा नोक्सानी व्यवस्था बढाएका कारण खुद निष्क्रिय कर्जा र खुद सम्पत्तिको अनुपात भने सुधारिएर ८.४४% पुगेको छ। उद्योगको ८% औसतको तुलनामा बैंकले आर्थिक शिथिलताका बीच १२% को उच्च कर्जा वृद्धि गरेको छ, जसले भविष्यमा ब्याजदर बढ्दा थप जोखिम निम्त्याउन सक्छ। यद्यपि, यो वृद्धि मुख्य रुपमा सुन धितो कर्जामा आधारित छ । जसको कुल हिस्सा २०% पुगेको छ। यसले उच्च कर्जा वृद्धिको जोखिमलाई केही राहत दिए पनि सुन कर्जासँग सम्बन्धित सञ्चालन जोखिमहरु भने यथावत् छन्।

आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ महिनामा नेपाल बैंक लिमिटेडको नाफामा उल्लेख्य सुधार देखिएको छ। बैंकको कर्जा नोक्सानी खर्च आर्थिक वर्ष २०८०/८१ को १.५२% र आर्थिक वर्ष २०८१/८२ को ०.६२% को तुलनामा घटेर समीक्षा अवधिमा ऋणात्मक अर्थात् -०.१३% मा झरेको छ। यसले गर्दा बैंकको औसत कुल सम्पत्तिमा प्रतिफल विगतको ०.०१% र ०.२६% बाट सुधार भई २०८२/८३ को ९ महिनामा ०.८९% पुगेको छ; भने सोही अवधिमा खुद सम्पत्तिमा प्रतिफल पनि पुराना सूचक ०.०९% र २.४९% बाट वृद्धि भई ९.५९% पुगेको छ। ब्याजदर अन्तर निरन्तर दबाबमा रहने अनुमान गरिएकाले, अल्पकालीन देखि मध्यकालीन अवधिमा बैंकको नाफा मुख्यतया निष्क्रिय कर्जाको प्रभावकारी व्यवस्थापन तथा असुली गर्ने र भाखा नाघेको कर्जालाई थप खराब हुन नदिने यसको क्षमतामा निर्भर रहनेछ।

२०८३ वैशाखसम्ममा बैंकको कुल पूँजी र जोखिमभारित सम्पत्तिको अनुपात १३.०५% र प्राथमिक पूँजी १०.३७% पुगेको छ, जुन अघिल्लो रेटिङको समयमा रहेको १२.९५% र १०.०८% को तुलनामा राम्रो सुधार हो। यो पूँजीकरण बैंकको न्यूनतम नियामकीय आवश्यकता (क्रमशः ११% र ८.५%) भन्दा बढी हुनुका साथै समग्र बैंकिङ क्षेत्रको औसत (क्रमशः १२.५३% र ९.६१%) भन्दा पनि उत्कृष्ट र सन्तोषजनक रहेको छ।

सन् १९३७ देखि सञ्चालित नेपाल बैंक लिमिटेड नेपालको सबैभन्दा पुरानो र सरकारी स्वामित्व (५१% सेयर) भएको वाणिज्य बैंक हो। यसको सञ्चालक समितिमा सरकारी प्रतिनिधित्वले संस्थागत सुशासनलाई भरपर्दो बनाएको छ। मुख्य कार्यालय र ७ प्रादेशिक कार्यालयसहित कुल २३९ वटा फराकिलो शाखा सञ्जालका कारण बैंकले आफ्नो जोखिम केन्द्रीकरणलाई कम गर्न सफल भएको छ। यसअन्तर्गत २०८३ वैशाखसम्म कुल कर्जामा शीर्ष २० ऋणीको हिस्सा करिब १४% र कुल निक्षेपमा शीर्ष २० निक्षेपकर्ताको हिस्सा केवल ८% मात्र रहेको छ।

Leave Your Comment

Related News