काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले देशमा बढ्दो जननिराशा र राज्यप्रतिको अविश्वासलाई गम्भीर रूपमा लिनुपर्ने भन्दै राष्ट्रिय मुद्दामा सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताएका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सिंहले देशमा “बाँच्न सकिन्न” भन्ने निराशाजनक भाष्य निर्माण गर्न नहुने बताए। सरकारको कामकारबाहीप्रति विरोध जनाउँदै विपक्षी सांसदहरूसँगै उभिएका उनले दलगत विवाद र घोचपेचभन्दा राष्ट्र, जनता र लोकतन्त्रको संरक्षणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।
उनले संसद्भित्र र संसद्बाहिर रहेका सबै राजनीतिक दललाई सम्बोधन गर्दै अहिलेको चुनौतीपूर्ण अवस्थामा राष्ट्रिय सहमति आवश्यक रहेको उल्लेख गरे। राज्य, जनता र लोकतन्त्र सुरक्षित रहे मात्रै राजनीतिक प्रतिस्पर्धाले अर्थ राख्ने भन्दै सत्ता र प्रतिपक्ष स्थायी नहुने उनको भनाइ थियो।
सिंहले संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई साझा राष्ट्रिय एजेन्डा तय गर्न आग्रह गर्दै जनतामा आशा जगाउने सन्देश दिनुपर्ने बताए। सबै दल एकताबद्ध भए मात्रै राष्ट्र, संविधान र लोकतन्त्रको रक्षा गर्न सकिने तथा देशमा बढ्दो निराशा हटाउन सकिने उनको भनाइ थियो।
देश निर्माणको जिम्मेवारी सबै राजनीतिक शक्तिको साझा दायित्व भएको उल्लेख गर्दै सिंहले दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय एकता, लोकतन्त्रको संरक्षण र जनविश्वास पुनःस्थापित गर्न सबै दलबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे।


