काठमाडौं । नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेललाई साढे ८ वर्ष कैद र डेढ करोड बढी जरिबानाको फैसला भएको छ।
विशेष अदालतले बिहीबार भ्रष्टाचार मुद्दामा पौडेललाई सजाय निर्धारण गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलसहितले ३ करोड ८ लाख ५० हजार ४ सय रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएको थियो।
न्यायाधीशहरू सुदर्शनदेव भट्ट, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले बिहीबार उनलाई सजाय निर्धारण गरेको हो।
उनले प्रविधि केन्द्रमा कार्यकारी निर्देशक हुँदा घुस लिएको भन्दै इजलासले थप ६ महिना कैद सजाय सुनाएको हो।
अदालतले पौडेलसँगै घुस दिने कार्यमा संलग्न दिपक आनन्दलाई पनि दोषी ठहर गरेको छ। आनन्द भारतीय नागरिक हुन्।
दुई जनाविरूद्ध कायम भएको ३ करोड ८ लाख ५० हजार ४०० रुपैयाँको दामासाही हुने जनही १ करोड ५४ लाख २५ हजार २०० रुपैयाँ जरिवाना हुने फैसला भएको हो।
यस्तै दुवै प्रतिवादीबाट जनही ६ लाख १७ हजार ८ रुपैयाँ पीडित संरक्षण कोषमा भराउन समेत अदालतको फैसलामा उल्लेख छ।
यसअघि विशेष अदालतले मंगलबार (असार ३०) गते गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको कसुरमा उनलाई साढे २ वर्षको कैद सजाय सुनाएको थियो। उनी नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशकको रूपमा रहँदा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको भन्दै उक्त सजाय सुनाएको थियो।
गैरकानुनी सम्पत्ति आर्जनको तर्फबाट दुई वर्ष र प्रबन्ध निर्देशकको हैसियतमा रहेर उक्त कार्य गरेको भन्दै थप ६ महिना कैद सजाय सुनाएको हो। १२ करोड ७५ लाख ७० हजार २३७ रुपैयाँ बराबरको सम्पत्ति जफत गर्न आदेश गरेको थियो।
साथै उनीबाट क्षतिपूर्तिस्वरू ५१ लाख २ हजार ८०९ रुपैयाँ असुल गरी पीडित राहत कोषमा जम्मा गर्न आदेश गरेको थियो।


