काठमाडौं । नेपालको पहिलो आधुनिक सडक सुरुङमार्ग नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक रूपमा उद्घाटन गरिने भएको छ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र नेपाल सरकारको संयुक्त लगानीमा करिब १९ अर्ब रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको यो आयोजना देशको पूर्वाधार विकासमा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ।
सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार मुख्य सुरुङको लम्बाइ २.६८ किलोमिटर रहेको छ भने इभ्याकुएसन टनेल र क्रस–प्यासेजसहित कुल सुरुङ संरचनाको लम्बाइ करिब ५.५ किलोमिटर पुगेको छ।
उद्घाटन कार्यक्रममा पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र जाइकाका अध्यक्ष सहभागी हुनेछन्। उद्घाटनपछि सुरुआती चरणमा एम्बुलेन्स, दमकल तथा सुरक्षा निकायका आकस्मिक सवारीसाधनलाई मात्र सुरुङमार्ग प्रयोग गर्न अनुमति दिइनेछ।
विभागका अनुसार उद्घाटनपछि सुरुङभित्र सुरक्षा प्रणालीको परीक्षणका लागि ‘मक ड्रिल’ सञ्चालन गरिनेछ। जेट फ्यान, भेन्टिलेसन प्रणाली तथा अन्य प्राविधिक उपकरणको परीक्षण सम्पन्न भएपछि करिब एक सातासम्म एकतर्फी रूपमा सवारी सञ्चालन गरिनेछ। सबै परीक्षण सफल भएमा करिब एक महिनाभित्र सुरुङमार्ग सर्वसाधारणका लागि पूर्ण रूपमा खुला गरिने योजना छ।
सुरुङमार्गमा मोटरसाइकल तथा प्रज्वलनशील वा विस्फोटक पदार्थ बोकेका सवारीसाधन सञ्चालन गर्न भने अनुमति नदिइने सडक विभागले जनाएको छ। जापानी निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेसन ले २०७६ सालदेखि निर्माण सुरु गरेको यो आयोजना नागढुंगा–सिस्नेखोला खण्डको उकालो, ट्राफिक जाम र पहिरोको जोखिम न्यूनीकरण गर्दै काठमाडौं आवतजावतलाई थप सुरक्षित, सहज र छिटो बनाउने विश्वास गरिएको छ।


