CLI

राजविराज र बोदेबर्साइनमा दुई घण्टा कर्फ्यु खुकुलो, त्यसपछि पुनः लागू

राजविराज । जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज नगरपालिका र बोदेबर्साइन नगरपालिका क्षेत्रमा जारी कर्फ्यु आदेश शनिबार बिहान दुई घण्टाका लागि खुकुलो बनाएको छ।

जिल्लाको समग्र शान्ति–सुरक्षाको अवस्था तथा नागरिकका अत्यावश्यक दैनिक कामकाजलाई मध्यनजर गर्दै साउन १६ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले बिहान ७ बजेदेखि ९ बजेसम्म दैनिक उपभोग्य सामग्री खरिद–बिक्रीका लागि कर्फ्यु आदेश आंशिक रूपमा खुकुलो गर्ने निर्णय गरेको हो।

प्रशासनले उक्त अवधिमा पनि हुलदङ्गा वा अशान्ति फैलाउने उद्देश्यले पाँच जनाभन्दा बढी व्यक्ति एकै स्थानमा भेला भई उच्छृङ्खल गतिविधि गरे वा गराएमा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ।

प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाका अनुसार बिहान ९ बजेपछि अर्को आदेश जारी नभएसम्म राजविराज नगरपालिका र बोदेबर्साइन नगरपालिका क्षेत्रमा पूर्ववत् कर्फ्यु आदेश निरन्तर लागू रहनेछ।

प्रशासनले नागरिकलाई सुरक्षा निकायसँग समन्वय गर्दै कर्फ्यु आदेशको पूर्ण पालना गर्न तथा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन पनि अनुरोध गरेको छ।

Leave Your Comment

Related News