CLI

जनकपुरधाममा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

काठमाडौं । जनकपुरधाममा आयोजित सद्भाव र्‍याली सम्पन्न भएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश हटाएर निषेधाज्ञा जारी गरेको छ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार शनिबार बिहान १० बजेदेखि लागू हुने गरी कर्फ्यु हटाइएको हो। अब अर्को आदेश नभएसम्म निषेधाज्ञा लागू रहने उनले जानकारी दिए।

दुध, तरकारी, फलफूल, खाद्यान्नलगायतका आवश्यक बस्तु खरिद गर्न आंशिक रूपमा कर्फ्यु खुकुलो गरिएको उनले बताए।

सुनसरीमा भएको घटनापछि जनकपुरधामसहित मधेश प्रदेशका विभिन्न जिल्लामा विरोध प्रदर्शन चर्किएपछि सुरक्षा अवस्थालाई मध्यनजर गर्दै गत बिहीबार दिउँसो ३:३० बजेदेखि जनकपुरधाममा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको थियो।

सुरक्षा अवस्था क्रमशः सामान्य बन्दै गएपछि सद्भाव र्‍याली सम्पन्न भएको र त्यसपछि कर्फ्यु हटाएर निषेधाज्ञा लागू गरिएको प्रशासनले जनाएको छ।

यसअघि सुनसरी र सिरहाको लहानमा पनि कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरिसकिएको छ। प्रशासनले नागरिकलाई निषेधाज्ञाको पूर्ण पालना गर्न तथा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सहयोग गर्न आग्रह गरेको छ।

Leave Your Comment

Related News