CLI

नेपालको रिटेल पेमेन्ट स्विचमा मासिक १२ खर्बभन्दा बढी कारोबार, नेपालको डिजिटल पेमेन्ट यात्रामा नयाँ आयाम

काठमाडौं । नेशनल पेमेन्ट स्वीचअन्तर्गत सञ्चालनमा रहेको रिटेल पेमेन्ट स्वीच (आरपीएस) ले २०८३ साल असार महिनामा मात्रै १२ खर्ब रुपैयाँभन्दा बढीको कारोबार फर्छ्यौट गर्दै नेपालको डिजिटल पेमेन्ट इकोसिस्टममा नयाँ उपलब्धि हासिल गरेको छ।

देशभर डिजिटल भुक्तानी तीव्र गतिमा वृद्धि भइरहेको वर्तमान अवस्थामा यसले नेपाललाई रियल टाइम पेमेन्टको क्षेत्रमा उदाउँदै गरेको अर्थतन्त्रका रूपमा स्थापित गर्न सहयोग गरेको छ ।

आर्थिक वर्ष २०८२/८३ (२०२५/२६) मा आरपीएसमार्फत ९३ खर्ब रुपैयाँ बराबरका रियल–टाइम कारोबार फर्छ्यौट भएका छन्। यो सोही अवधिमा चेकमार्फत भएको कुल कारोबार रकमभन्दा पनि निकै बढी हो।

यसले व्यक्ति, व्यवसाय, वित्तीय सेवा प्रदायक तथा सरकारी निकायबीच अन्तरआबद्ध डिजिटल भुक्तानी प्रणालीप्रतिको बढ्दो विश्वास झल्काउनुका साथै नेपालको डिजिटल अर्थतन्त्रलाई थप सुदृढ बनाउन भुक्तानी पूर्वाधारको महत्वपूर्ण भूमिका उजागर गरेको छ।

यो उपलब्धिले डिजिटल कारोबारको संख्यामा भएको वृद्धिलाई मात्र नभई नेपालको अन्तरआबद्ध भुक्तानी प्रणालीको परिपक्वतालाई समेत प्रतिबिम्बित गरेको छ।

रिटेल पेमेन्ट स्वीचको प्लेटफर्म एउटा महत्वपूर्ण राष्ट्रिय वित्तीय पूर्वाधारका रूपमा सुरक्षित, विश्वसनीय र ठूलो परिमाणमा कारोबार फर्छ्यौट गर्न सक्षम रहेको प्रमाणित भएको छ।

नोभेम्बर २०२१ मा सञ्चालनमा आएको आरपीएस नेशनल पेमेन्ट स्वीचको महत्वपूर्ण हिस्सा हो। नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार एनसीएचएलले यसको कार्यान्वयन तथा सञ्चालन गर्दै आएको छ।

साझा राष्ट्रिय भुक्तानी पूर्वाधारका रूपमा विकास गरिएको आरपीएसले बैंक, वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक (पीएसओ), भुक्तानी प्रणाली सञ्चालक (पीएससी) तथा सरकारी निकायबीच सुरक्षित, रियल–टाइम तथा बैंक खातामा आधारित भुक्तानी सेवा प्रदान गर्दै आएको छ।

हाल आरपीएसले नेपालको डिजिटल अर्थतन्त्रलाई सशक्त बनाउन विभिन्न अन्तरआबद्ध भुक्तानी सेवाका लागि एकीकृत कारोबार प्रशोधन प्लेटफर्मका रूपमा काम गरिरहेको छ।

यसअन्तर्गत रियल–टाइम अकाउन्ट–टु–अकाउन्ट ट्रान्सफर, अन्तरआबद्ध नेपालपे क्यूआर भुक्तानी, एनपीआईमार्फत मोबाइल बैंकिङ तथा डिजिटल वालेटबाट हुने भुक्तानी, अनलाइन मर्चेन्ट पेमेन्ट, बिलर गेटवेबाट युटिलिटी तथा बिल भुक्तानी, नेपालपे रिक्वेस्ट–टु–पे, नेपालपे इन्स्ट्यान्टमार्फत भीपीए आधारित ट्रान्सफर, सुरक्षित अकाउन्ट टोकनाइजेसन, नेपालपे ट्यापमार्फत एनएफसी आधारित अकाउन्ट–टु–अकाउन्ट भुक्तानी तथा आरटीजीएस प्रणालीसँग एकीकृत मल्टिल्याटरल नेट सेटलमेन्ट लगायतका सेवा उपलब्ध छन्।

एनसीएचएलले यस्ता विभिन्न भुक्तानी उपकरणलाई एउटै साझा पूर्वाधारमा एकीकृत गरी छुट्टाछुट्टै भुक्तानी नेटवर्कमा जोडिनुपर्ने आवश्यकता हटाउनुका साथै समग्र वित्तीय प्रणालीमा नवीनतम प्रयोगलाई प्रोत्साहन गर्दै आएको छ।

विश्वव्यापी रूपमा हेर्दा अन्तरआबद्ध रियल–टाइम भुक्तानी प्रणालीहरू रणनीतिक राष्ट्रिय पूर्वाधारका रूपमा स्थापित भइरहेका छन्।

भारतको यूपीआई, ब्राजिलको पिक्स, थाइल्यान्डको प्रम्प्टपे, सिंगापुरको पे नाउ, मलेसियाको डुइट नाउ तथा इन्डोनेसियाको बीआई–फास्ट जस्ता प्रणालीहरूले साझा भुक्तानी पूर्वाधारमार्फत डिजिटल व्यापार विस्तार, वित्तीय समावेशीकरण र नवप्रवर्तनलाई प्रोत्साहन गर्न सकिने प्रमाणित गरिसकेका छन्।

नेपालको नेशनल पेमेन्ट स्वीच पनि यही अवधारणामा आधारित रही बैंक, वित्तीय सेवा प्रदायक, व्यवसाय, सरकारी निकाय तथा फिनटेक नवप्रवर्तकलाई साझा मापदण्डमार्फत जोड्ने अन्तरआबद्ध प्लेटफर्मका रूपमा विकास हुँदै गएको छ।

नेपालको अर्थतन्त्रको आकार तुलनात्मक रूपमा सानो भए पनि दीर्घकालीन आर्थिक वृद्धिलाई सहयोग गर्ने आधुनिक डिजिटल सार्वजनिक पूर्वाधार निर्माणको प्रमुख आधारका रूपमा यो प्रणाली स्थापित हुँदै गएको छ।

Leave Your Comment

Related News