CLI

पोखरामा आज १० हजार सिलिन्डर ग्यास वितरण हुँदै

पोखरा । पोखरामा खाना पकाउने एलपी ग्यासको अभाव भइरहेका बेला आज मात्रै १० हजार सिलिन्डर ग्यास बजारमा पठाइने भएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले ग्यास वितरणलाई सहज बनाउन शुक्रबारदेखि किराना पसलबाटै ग्यास बिक्री गर्ने व्यवस्था मिलाएको छ ।

जिल्ला अनुगमन समिति कास्कीले गगनगौंडास्थित दुई ग्यास उद्योगमा अनुगमन गरी ग्यासको आपूर्ति अवस्थाबारे जानकारी लिएको थियो । उद्योगहरूले दिएको विवरणअनुसार पोखराको बजारमा आज करिब १० हजार सिलिन्डर ग्यास पुग्ने सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।

उनका अनुसार गृहलक्ष्मी ग्यासले ३ हजारभन्दा बढी सिलिन्डर पोखरा बजारमा बिक्रीका लागि पठाउने तयारी गरेको छ । यस्तै, शक्ति ग्यास कम्पनीले २ हजार ५ सय भरिएका सिलिन्डर बजारमा पठाउने भएको छ ।

पोखरा बाहिर रहेका ग्यास उद्योगबाट पनि आपूर्ति बढाइएको प्रशासनले जनाएको छ । बाबाले १ हजारभन्दा बढी तथा जानकी र नेपाल ग्यासले पनि १ हजारभन्दा बढी सिलिन्डर पोखरा भित्र्याउने तयारी गरेका छन् ।

ग्यास बोकेका चारवटा बुलेट भारतबाट हिँडिसकेको र आइतबार बेलुकासम्म पोखरा आइपुग्ने गृहलक्ष्मी  कम्पनीले जनाएको छ ।

पोखरामा साउनको पहिलो सातादेखि नै खाना पकाउने एलपी ग्यासको अभाव हुँदै आएको छ ।

Leave Your Comment

Related News