काठमाडौं । साढे दुई दशकदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा आएको छ । नेपाली सेनाले उद्योगमा रहेको मेशिन सरसफाई गरी तान चलाए सँगै उद्योग पुनः सञ्चालनमा आएको हो ।
सेनाले उद्योग तथा मेशिनहरुको मर्मत सम्भार पछि शनिबार तान चलाएर प्रारम्भिक परिक्षण थालेको हो । प्रधानमन्त्री बालेन्द्र शाहका निजीसचिव प्रदीप परियारका अनुसार उद्योगभित्र रहेका पुराना मेसिन तथा तानहरूको मर्मत–सम्भारपछि शनिबार परीक्षण उत्पादन सुरु गरिएको हो । परीक्षणका क्रममा उद्योगमा कपडा उत्पादनसमेत सुरु भएको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । परियारका अनुसार नेपाली सेनाको नेतृत्वमा उद्योगभित्र रहेका पुराना मेसिन तथा तानहरूको मर्मतसम्भार गरी परीक्षण उत्पादन सुरु गरिएको हो ।लामो समयदेखि थन्किएका मेसिन सञ्चालनमा आएपछि उद्योग परिसरमा फेरि कपडा बुन्ने तानको ‘खट्खट्’ आवाज सुनिन थालेको परियारले आफ्नो सामाजिक सञ्जालमा तान चलेको भिडियो सामग्री राख्दै उल्लेख गरेका छन् । वर्षौँदेखि सुनसान रहेको उद्योगपरिसरमा फेरि तानको ‘खट्खट्’ आवाज सुनिन थालेको हो । उद्योग पुनः सञ्चालन भए सँगै उद्योग परिसरमा तानका आवाज सुनिएको छ र स्थानीयहरुले पनि खुशी व्यक्त गरेको सेनाका एक अधिकारीले जानकारी दिए ।
उद्योग सञ्चालनको जिम्मेवारी सेनालाई दिए सँगै सेनाले उद्योग सञ्चालनमा ल्याएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नेत्र प्रसाद सुबेदीले जानकारी दिए । उनका अनुसार उद्योग पुनः सञ्चालनका निम्ति सरकारले बजेट विनियोजन भएसकेको अवस्थामा नेपाली सेनाबाट परीक्षण उत्पादनको कार्य अघि बढाइएको हो । सरकारले बजेटमार्फत् उद्योग सञ्चालन गर्ने भनेको थियो सोही अनुरुप सेनाले उद्योग सञ्चालनको काम अघि बढाएको हो , हाल तान सञ्चालन गरेको सेनाको ती अधिकारीले बताए ।
हेटौँडा औद्योगिक क्षेत्रको एक सय ६६ रोपनीमा फैलिएको उद्योग सञ्चालनमा रहँदा वार्षिक २ हजार ३ सय टन धाँगो र तीन सिफ्टमा गरी १ करोड १० लाख मिटर कपडा उत्पादन हुने गरेको थियो । उद्योग पुनः सञ्चालनमा आए सँगै उद्योग सञ्चालनले निरन्तरता पाउने वा नपाउने र सो अवस्थामा उत्पादन पुराउन सक्ने वा नसक्ने महत्वपूर्ण प्रश्न उठाएको छ । सरकारले बजेटमार्फत रुग्ण अवस्थाका हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा ल्याउने जनाएको थियो , सोही अनुरुप हेटौँडा कपडा उद्योग सञ्चालनमा आएको हो । उद्योग मन्त्री गौरी कुमारीले रुग्ण उद्योगका रुपमा रहेका हेटौँडा कपडा उद्योग सबैभन्दा पहिला सञ्चालनमा ल्याउने योजना अनुरुप अघि बढेको बताएकी छिन् । यसअघि आफूले यही वर्ष उद्योग सञ्चालनमा ल्याउने भने सँगै सेनाले काम अघि बढाएको उनको भनाई छ ।
उनले यसअघि रुग्ण उद्योगका रुपमा रहेका हेटौँडा कपडा उद्योग सबैभन्दा पहिला सञ्चालनमा आउँछ । कपडा र धागो उद्योग तथा कपासखेती एकैसाथ अगाडि बढाउनुपर्छ । यी उद्योग यही वर्ष सञ्चालनमा आउने बताएकी थिइन् । मन्त्री कुमारीले उद्योग मात्र नभई पेट्रोलियम पदार्थमा इथानोल मिसावट गर्ने कार्य पनि अघि बढेको बताउँदै आएकी छिन् ।
सरकारले हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरेसँग अर्थ मन्त्रालयबाट बजेट निकासा भइसकेको पनि अर्थ मन्त्रालयका सहसचिव अमृत लम्सालले बताए । ‘नेपाल सरकारको यो स्वीकृति प्राप्तपश्चात् अर्थ मन्त्रालयबाट बजेटको पनि निकासा भइसकेको हुनाले नेपाली सेनाबाट परीक्षण उत्पादनको कार्य अघि बढाएको हो ,’ उनले भने, ‘उद्योगबाट निजामती कर्मचारी , सेना, प्रहरी र सशस्त्र गरी सुरक्षा निकायका लागि आवश्यक कपडा उत्पादन गर्ने निर्णय भएको छ ।’
यसअघि पनि विभिन्न सरकार तथा अर्थमन्त्रीहरुले हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने बताउदै आएका थिए । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्ने क्रममा शर्माले २०५६ सालदेखि बन्द हेटौँडा कपडा उद्योग सञ्चालनमा ल्याइने घोषणा गरेका थिए । यसैगरी २०६५ सालमा बाबुराम भट्टराई अर्थमन्त्री हुँदा नेपाली सेना र निजामती कर्मचारीको पोशाक उत्पादनका लागि उद्योग पुनः सञ्चालन गर्ने निर्णय भएको थियो । त्यसका लागि सरकारले बजेट छुट्याए पनि उद्योग सञ्चालन हुन सकेन । त्यसपछि गठन भएका सरकारले उद्योग सञ्चालनका लागि बजेट छुट्याउँदै आए पनि उद्योगले पुनर्जीवन पाउन नसकेको उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय उपाध्यक्ष वासु खतिवडाले बताएका छन् ।त्यस्तै तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि बन्द हेटौँडा कपडा उद्योग सञ्चालनका लागि तयारी भइरहेको घोषणा गरेका थिए । सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा उद्योग सञ्चालन गर्ने योजना समावेश गरेपछि प्रचण्डलाई नेपाली सेनाले प्रतिवेदन बुझाएको थियो ।
चीन सरकारको आर्थिक तथा प्राविधक सहयोगमा २०३२ साल साउनमा स्थापना भएको उद्योग व्यवस्थापकीय कमजोरी, नियमित विद्युत् आपूर्तिमा कठिनाइ, उत्पादन लागत बढ्नु, अनावश्यक जनशक्ति भर्नालगायत कारण २०५६ साल फागुनदेखि पूर्ण रूपमा बन्द छ । बन्द उद्योगका मेसिन खियाले खाएका छन् । उद्योगका भवनमा सशस्त्र प्रहरीले बलले कार्यालय सञ्चालन गरेको छ ।



