काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालय, केसरमहल, काठमाडौंले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम तीन कम्पनीलाई कालोसूचीमा राखेको हो।
कार्यालयको २०८३ साउन २५ गतेको निर्णयअनुसार साउन २६ गते सूचना प्रकाशित गर्दै कम्पनीहरूलाई फरक–फरक अवधिका लागि कालोसूचीमा राखिएको जानकारी दिएको छ।
टोखा नगरपालिका नगर कार्यपालिकाको कार्यालय, काठमाडौंको सिफारिसमा टोखा–८ स्थित स्पेक्स नेपाल प्रालिलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ। कम्पनीका मुख्य व्यक्ति प्रदिप केसी रहेका छन्।
त्यस्तै, सडक डिभिजन डोटीको सिफारिसमा गोकर्णेश्वर–८, काठमाडौंस्थित जेडिएमआर बिल्डर्स प्रालिलाई एक वर्ष ६ महिनाका लागि कालोसूचीमा राखिएको छ। उक्त कम्पनीका मुख्य व्यक्ति रविप्रकाश सिंह हुन्।
नेपाल विद्युत् प्राधिकरण, दरबारमार्ग काठमाडौंको सिफारिसमा भारतको हैदरावादस्थित एमएस श्रुष्टि कन्टेक प्रालिलाई तीन वर्षका लागि कालोसूचीमा राखिएको छ। कम्पनीका मुख्य व्यक्तिमा राजशेखर रेड्डी र स्मिता शुक्ला रहेका छन्।
कालोसूचीमा राखिएको अवधिभर यी निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले सार्वजनिक निकायबाट हुने कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्। कार्यालयका अनुसार उक्त निर्णय सूचना प्रकाशित भएको मितिदेखि नै लागू भएको छ।



