काठमाडौं । कोलम्बियाको पश्चिम भागमा गएको शक्तिशाली भूकम्पका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति नेपाल सरकारले गहिरो दुःख व्यक्त गरेको छ ।
परराष्ट्र मन्त्रालयले मंगलबार एक प्रेसनोट जारी गर्दै भूकम्पमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दै नेपाल सरकार र नेपाली जनताको तर्फबाट कोलम्बिया सरकार तथा त्यहाँका जनताप्रति सहानुभूति व्यक्त गरेको छ ।
परराष्ट्र मन्त्रालयले भनेको छ “यस कठिन परिस्थितिमा नेपाल सरकार र नेपाली जनता कोलम्बियाली सरकार र जनताको साथमा दृढताका साथ उभिएका छन् ।’’ नेपाल सरकारले भूकम्पका कारण बेपत्ता भएकाहरूको शीघ्र तथा सफल उद्धारको कामना गरेको छ ।



