काठमाडौं । मंगलबार नेप्से परिसूचक ०.७९ अंक बढेर २६४१.८५ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.८५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.१७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३० अंक बढेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। सोमबार कारोबार रकम ३ अर्ब ६७ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४० स्टकको ५२ हजार ७३ पटकको कारोबारमा ४ अर्ब ११ करोड ९ लाख ७४ हजार रुपैयाँबराबरको ९५ लाख ३४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन अप्पर लोहोरे खोला हाइड्रोपावर १५ प्रतिशतले बढेको छ । सो कम्पनीको शेयरमूल्य यस दिन ५६ रुपैयाँ ९० पैसा बढेर ४३६ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ। बाँकी मूल्य बढेका स्टकहरुको वृद्धिदर भने ६ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको महिला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक १४.९१ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन पनि सोलु हाइड्रोपावर पहिलो स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४४ करोड ८७ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन रिडी पावर कम्पनीको कारोबार रकम साढे ३३ करोड रुपैयाँ नाघेको छ भने ङादी ग्रुप पावरको करिब १८ करोड रुपैयाँको शेयर कारोबार भएको छ।
१३ उपसमूहमध्ये यस दिन छ उपसमूहको परिसूचक बढेको छ भने सात उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा र अन्य उपसमूहको परिसूचक सामान्य अंक बढेको हो।



