CLI

बैंकिङ प्रणालीमा ८२ खर्ब ५० अर्ब निक्षेप, १५ खर्ब बढी तरलता

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ८२ खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार वाणिज्य बैंकहरूमा मात्रै ७४ खर्ब ४७ अर्ब रुपैयाँ निक्षेप रहेको छ भने अन्य बैंक तथा वित्तीय संस्थामा ८ खर्ब ३ अर्ब रुपैयाँ निक्षेप रहेको छ।

यस्तै, बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ५९ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ। यसमध्ये वाणिज्य बैंकहरूको कर्जा लगानी ५२ खर्ब ६५ अर्ब रुपैयाँ र अन्य बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ६ खर्ब ५९ अर्ब रुपैयाँ रहेको छ।

निक्षेपको तुलनामा कर्जा लगानी कम रहेकाले बैंकिङ प्रणालीमा तरलताको पर्याप्तता देखिएको छ। बैंक तथा वित्तीय संस्थाको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७१.२२ प्रतिशत रहेको छ। सीडी रेसियो कम हुनु भनेको बैंकहरूसँग निक्षेपको तुलनामा कर्जा प्रवाहका लागि थप स्रोत उपलब्ध रहेको राष्ट्र बैंकले जनाएको छ । यो सँगै बैंक तथा वित्तीयहरु सँग हाल १५ खर्ब ४९ अर्ब तरलता (लगानीयोग्य) रकम रहेको छ ।

त्यस्तै, स्थानीय मुद्रामा भारित औसत अन्तरबैंक ब्याजदर २.७५ प्रतिशत रहेको छ। अन्तरबैंक ब्याजदर तुलनात्मक रूपमा न्यून रहनुले बैंकिङ प्रणालीमा तत्कालका लागि तरलताको चाप व्यवस्थापन गर्न सकिने संकेत गर्छ।

समग्रमा, उच्च निक्षेप, तुलनात्मक रूपमा कम सीडी रेसियो र २.७५ प्रतिशतको अन्तरबैंक ब्याजदरले बैंकिङ प्रणालीमा तरलतालाई व्यवस्थापन गर्न सकिने देखिन्छ । यद्यपि, निक्षेपको वृद्धि र कर्जा मागको अवस्थाअनुसार आगामी दिनमा तरलताको स्थिति परिवर्तन हुन सक्ने वित्तीय क्षेत्रका जानकारहरु बताउछन्।

Leave Your Comment

Related News