काठमाडौं । सञ्चालनमा रहेका ५० वटा लघुवित्तमध्ये ४२ वटा कम्पनीहरूले चालु आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन्। यी संस्थाहरूले एक वर्षमा समग्रमा ९ अर्ब ७३ करोड रुपैयाँभन्दा धेरै नाफा कमाएका छन्। यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ५१.७९ प्रतिशत धेरै हो।
गत वर्ष यी संस्थाहरूले ६ अर्ब ४१ करोड रुपैयाँ नाफा कमाएका थिए। खुद ब्याज आम्दानीमा वृद्धि तथा इम्पेयरमेन्ट चार्जमा आएको कमीका कारण नाफामा सुधार देखिएको छ। विश्लेषकहरू कर्जा विस्तार, ब्याज आम्दानीमा सुधार र पुनरुत्थान भएको आर्थिक गतिविधिका कारण नाफामा केही सुधार देखिएको बताउँछन्। यद्यपि केही ठूला संस्थामा देखिएको नाफाको गिरावटले जोखिम व्यवस्थापनमा चुनौती रहेको सङ्केत गर्छ।
सार्वजनिक भएको रिपोर्ट अनुसार सबैभन्दा धेरै नाफा कमाउनेमा छिमेक लघुवित्त रहेको छ। यसले एक वर्षमा १ अर्ब २९ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्ष कम्पनीले १ अर्ब २१ करोड २८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। डिप्रोक्सले ९८ करोड ९४ लाख, जीवन विकासले ७० करोड ६४ लाख, नेसनलले ८९ करोड १३ लाख र साना किसानले ६५ करोड ३ लाख रुपैयाँ नाफा कमाएका छन्।

यता, ४२ वटा कम्पनीको पूँजी ३४ अर्ब ८७ करोड ९७ लाख ९१ हजार रुपैयाँ पुगेको छ भने कुल जगेडा कोष २६ अर्ब ६६ करोड ५० लाख ६९ हजार रुपैयाँ कायम भएको छ। वित्तीय विवरण अनुसार चुक्ता पूँजी र जगेडा कोष दुवै सूचकमा साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड पहिलो स्थानमा रहेको छ, जसको चुक्ता पूँजी ४ अर्ब ९२ करोड ७१ लाख ७० हजार रुपैयाँ र जगेडा कोष ४ अर्ब ३३ करोड २८ लाख २० हजार रुपैयाँ रहेको छ।
चुक्ता पूँजीतर्फ छिमेक लघुवित्त ३ अर्ब ६१ करोड ७२ लाख ६४ हजार रुपैयाँसहित दोस्रो, निर्धन उत्थान लघुवित्त २ अर्ब ७४ करोड २६ लाख ८३ हजार रुपैयाँसहित तेस्रो र डिप्रोक्स लघुवित्त २ अर्ब ५ करोड ५१ लाख ४४ हजार रुपैयाँसहित चौथो स्थानमा रहेका छन्।
त्यसैगरी, जगेडा कोषतर्फ निर्धन उत्थान लघुवित्त ३ अर्ब १ करोड ३९ लाख ६० हजार रुपैयाँसहित दोस्रो, छिमेक लघुवित्त २ अर्ब १६ करोड ३ लाख ९३ हजार रुपैयाँसहित तेस्रो र ग्रामीण विकास लघुवित्त १ अर्ब ८५ करोड ३९ लाख १३ हजार रुपैयाँसहित चौथो स्थानमा रहेका छन्। 


