CLI

एड्भान्स अटोमोबाइलले ल्यायो लक्जरी इभी ‘होङ्ची ई–एचएस४’, बुकिङ खुला

काठमाडौं । चीनको प्रसिद्ध लक्जरी अटोमोबाइल ब्रान्ड होङ्ची  को नयाँ इलेक्ट्रिक एसयूभी ‘ई–एचएस४’ (E-HS4) नेपाली बजारमा सार्वजनिक भएको छ। विशाल ग्रुपअन्तर्गतको आधिकारिक बिक्रेता एड्भान्स अटोमोबाइल प्रालिले काठमाडौँको भृकुटीमण्डपमा जारी ‘नाइमा मोबिलिटी एक्स्पो’का अवसरमा यो लक्जरी इभी सार्वजनिक गरेको हो। कम्पनीले गाडीको आधिकारिक बुकिङ खुला गरिसकेको छ भने खरिदकर्तालाई आगामी अक्टोबर (असोज/कात्तिक) देखि डेलिभरी दिने जनाएको छ। साथै, बिक्रीपछिको सेवा र ग्राहक अनुभवलाई थप प्रभावकारी तथा स्तरीय बनाउन कम्पनीले काठमाडौँको टाँगालमा अत्याधुनिक शोरुम निर्माण कार्यलाई तीव्र रूपमा अघि बढाएको छ।

होङ्ची चीनको पहिलो तथा ठूलो अटोमोबाइल निर्माता ‘फर्स्ट अटोमोबाइल वर्क्स’  अन्तर्गतको प्रिमियम ब्रान्ड हो। सुरुवातका दिनहरूमा यो ब्रान्डले चीनका राष्ट्रपति, उच्चपदस्थ सरकारी अधिकारी तथा राज्यका विशिष्ट अतिथिका लागि मात्र लक्जरी गाडी उत्पादन गर्ने गर्थ्यो। पछिल्ला वर्षहरूमा भने कम्पनीले सर्वसाधारणका लागि पनि आफ्ना अत्याधुनिक लक्जरी कार तथा इभीहरूको पहुँच विस्तार गरिरहेको छ।

नेपालमा सार्वजनिक गरिएको होङ्ची ई–एचएस४ मा ६७.१ किलोवाट घण्टा क्षमताको ब्याट्री दिइएको छ, जसलाई सर्वोच्च IP67 सुरक्षा तह प्रदान गरिएको छ। यस ब्याट्रीले डब्लूएलटीपी  परीक्षण मानकअनुसार एकपटकको फुल चार्जमा ४६० किलोमिटरभन्दा बढी दूरी तय गर्ने क्षमता राख्छ।

 यस एसयूभीमा १६० किलोवाट क्षमताको विद्युतीय मोटर राखिएको छ, जसले अधिकतम २४० एनएम टर्क पैदा गर्छ। ४०४.४ भोल्ट चार्जिङ भोल्टेज रहेको यस इभीको ब्याट्रीलाई ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न केवल २० मिनेट मात्र लाग्छ। गाडीमा सुरक्षाका लागि विद्युतीय स्थिरता नियन्त्रण (ESC), एन्टी-लक ब्रेकिङ प्रणाली  र विद्युतीय ब्रेक बल वितरण  जस्ता आधुनिक प्रविधि समावेश गरिएका छन्। यसबाहेक ३९३ लिटर क्षमताको बुट स्पेस रहेको यस गाडीमा पछाडिका सिट फोल्ड गर्दा १,३०० लिटरसम्म भण्डारण क्षमता पुग्छ भने ३.३ किलोवाटसम्मको बाह्य विद्युतीय उपकरण सञ्चालन गर्न मिल्ने V2L फिचर पनि उपलब्ध छ।

कम्पनीले होङ्ची ई–एचएस४ को नियमित सुरुवाती मूल्य रु. ५९ लाख ९९ हजार ९९९ तोकेको छ।

Leave Your Comment

Related News