काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्स्पोमा अवलोकनकर्ताको उत्साहजनक सहभागितासँगै सवारीसाधनको बुकिङ पनि उल्लेखनीय देखिएको छ। साउन २६ देखि ३१ गतेसम्म सञ्चालन भएको एक्स्पोमा करिब १ लाख ८० हजारले अवलोकन गरेको आयोजकले जनाएको छ।
आयोजकका अनुसार एक्स्पो अवधिमा करिब ५ हजार ५ सय चारपांग्रे र २ हजारको हाराहारीमा दुईपांग्रे सवारीसाधन बुकिङ भएका छन्। बुकिङ भएका सबै सवारी बिक्री भएमा करिब २० अर्ब रुपैयाँ बराबरको कारोबार हुने व्यवसायीहरूको अनुमान छ।
अवलोकनकर्ताको बाक्लो उपस्थिति र सवारीसाधनको उत्साहजनक बुकिङले व्यवसायीलाई पनि उत्साहित बनाएको छ। कतिपय कम्पनीले उल्लेखनीय बुकिङ भएपछि स्टलमै केक काटेर तथा ‘स्याम्पेन’ फोरेर बिक्रीको खुसीयाली मनाएका थिए।

एक्स्पोमा ५५ ब्रान्डका ४४ नयाँ मोडल सार्वजनिक गरिएका थिए। आयोजकका अनुसार यसपटकको एक्स्पोमा विगतका अटो शोको तुलनामा विद्युतीय सवारीसाधनप्रति अवलोकनकर्ताको आकर्षण अझ बढी देखिएको छ। एक्स्पोमा १८ लाख रुपैयाँदेखि करिब ४ करोड रुपैयाँसम्म मूल्य पर्ने सवारीसाधन प्रदर्शनीमा राखिएका थिए।
नाइमा अध्यक्ष ऋतुसिंह वैद्यले देशकै ठूलो मोबिलिटी एक्स्पोलाई सफल बनाउन एक जनाको प्रयासले मात्र सम्भव नभएको बताइन्। सयौं व्यक्ति तथा संस्थाको निरन्तर मेहनत र सहयोगका कारण एक्स्पो सफल भएको भन्दै उनले सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरिन्।
व्यवसायीका अनुसार चारपांग्रे सवारीमा बीवाईडी, टाटा र चेरीले सबैभन्दा बढी बुकिङ प्राप्त गरेका छन्। त्यसपछि वुलिङ, किया, महिन्द्रा, हुन्डाई, एमजी र लिपमोटरका सवारीमा पनि उल्लेखनीय बुकिङ भएको छ। दुईपांग्रेमा एथर, ट्रायम्फ, रोयल इनफिल्ड, याडिया र सीएक्स मोटोका सवारी बढी बुक भएका छन्।
एक्स्पो अवधिमा मुलुकभर बीवाईडीका एक हजारभन्दा बढी सवारी बुकिङ भएको व्यवसायीले बताएका छन्। टाटा र चेरी क्यु३ का पनि ७ सयभन्दा बढी युनिट बुकिङ भएका छन्।

कियाले एक्स्पो अवधिमा ७ सयभन्दा बढी सवारी बुकिङ भएको जनाएको छ। तीमध्ये नेपाल भित्रिने क्रममा रहेका ६ सयभन्दा बढी कियाका साइरोस ईभीको बुकिङ भएको कम्पनीको दाबी छ।
त्यस्तै, वुलिङका ४४३, आईकारका ४२१, ओमोडा–जेइकोका ३५०, आर्कफक्सका २००, एमजीका ३२९ र लिपमोटरका २०० युनिट बुकिङ भएका छन्। महिन्द्राका १००, प्रोटनका १००, जीडब्लूएमका २०५, होङ्छीका ५५, टोयोटाका ४६, म्याक्ससका ३४ र निसानका ३५ युनिट बुकिङ भएको व्यवसायीले जानकारी दिएका छन्।
यसैगरी बेइकका ५६, अर्नी बोमाका ३०, फोर्थिङ फ्राइडेका ६० र काईका ८० युनिट बुकिङ भएका छन्।
दुईपांग्रे सवारीतर्फ एथरका ४००, याडियाका १४५, रोयल इनफिल्डका १०० र केटीएमका ६० युनिट बुकिङ भएका छन्। सुजुकीका ५०, सीएक्स मोटोका २००, सीएफ मोटोका १०८, ट्रायम्फका १०० र मोर्बिडेलीका ४५ युनिट बुकिङ भएको सम्बन्धित कम्पनीले जानकारी दिएका छन्।

३०–३५ लाखका गाडीमा बढी आकर्षण
नाइमा एक्स्पो संयोजक गौरव सारडाले एक्स्पोमा ३० देखि ३५ लाख रुपैयाँ मूल्य समूहका सवारीसाधनमा बढी आकर्षण देखिएको बताए। उनका अनुसार इन्ट्री लेभलका सवारीसाधनप्रति ग्राहकको चासो बढ्दा अटो शोमा नयाँ खरिदकर्ता पनि थपिएका छन्।
“यसपटक एक्स्पोमा अवलोकनकर्ताको सहभागिता उत्साहजनक रह्यो। विशेषगरी इन्ट्री लेभलका गाडीमा ग्राहकको आकर्षण देखिएको छ,” सारडाले भने।
लक्ष्मी ग्रुपका निर्देशक तथा नाइमा बोर्ड सदस्य निराकर श्रेष्ठले एक्स्पोमा देखिएको बुकिङ उत्साहजनक भए पनि सबै बुकिङलाई तत्काल बिक्रीमा रूपान्तरण गर्न कठिन हुने बताए। उनका अनुसार कतिपय ग्राहकले एउटै समयमा दुई–तीन वटा मोडल बुक गरेका छन्।
“बुकिङको तथ्यांक उत्साहजनक छ, तर एउटै ग्राहकले दुई–तीन वटा मोडल बुक गरेको अवस्था पनि छ। त्यसैले बुकिङमध्ये बढीमा ५० प्रतिशत मात्रै वास्तविक बिक्रीमा परिणत हुन सक्ने देखिन्छ,” श्रेष्ठले बताए।
उनले एक्स्पोको अन्तिम दिनसम्म पनि अवलोकनकर्ताको उत्साहमा कमी नआएको बताए।
यसपटकको नाइमा मोबिलिटी एक्स्पोमा विद्युतीय सवारीसाधनले विशेष स्थान बनाएका छन्। परम्परागत रूपमा अटो शोमा देखिने पेट्रोल तथा डिजेल सवारीसँगै विभिन्न मूल्य र सेग्मेन्टका विद्युतीय कार तथा दुईपांग्रे सवारीको बाक्लो उपस्थिति रहेको थियो। ग्राहकको बुकिङमा समेत विद्युतीय सवारीको हिस्सा उल्लेखनीय देखिएको व्यवसायीहरूको भनाइ छ।
एक्स्पोमा देखिएको सहभागिता र बुकिङले नेपाली अटो बजारमा विद्युतीय सवारीप्रतिको बढ्दो आकर्षणसँगै तुलनात्मक रूपमा सस्तो मूल्यका नयाँ मोडलका लागि समेत बजार विस्तार भइरहेको संकेत गरेको व्यवसायीहरूको विश्लेषण छ।


