काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासमा व्यापक कटौती गर्ने बताएका छन्। उत्तर कोरियाली नेता किम जोङ उनसँग आफ्नो एकदमै राम्रो सम्बन्ध रहेको उल्लेख गर्दै ट्रम्पले यस्तो घोषणा गरेका हुन्।
ट्रम्पले ट्रुथ सोसलमा लेख्दै यी सैन्य अभ्यासहरू अत्यन्तै खर्चिला हुनुका साथै अनुपयुक्त र शत्रुतापूर्ण सन्देश दिने खालका रहेको बताएका छन्। उनले संयुक्त राज्य अमेरिकाले यसको ठुलो खर्च व्यहोर्नुपरेको उल्लेखसमेत गरेका छन्। साथै, इरानको निःशस्त्रीकरणको विषयमा संयुक्त राज्य अमेरिकालाई साथ दिन आग्रह गर्दा दक्षिण कोरियाले अस्वीकार गरेको विषयमा पनि उनले असन्तुष्टि जनाएका छन्।
सोमबारदेखि सुरु हुने भनिएको वार्षिक सैन्य अभ्यास रद्द गर्न ढिला भइसकेको भए पनि भविष्यमा यसलाई घटाउने ट्रम्पको भनाइ छ। अर्कोतर्फ, दक्षिण कोरियाले भने अमेरिकासँगको सैन्य अभ्यास निर्धारित तालिका अनुसार नै अघि बढ्ने जनाएको छ। उत्तर कोरियाले यसअघि नै उक्त संयुक्त अभ्यासलाई आक्रमणको पूर्वअभ्यास भन्दै भर्त्सना गरिसकेको छ।


