काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सुनको सिक्री लुटपाट तथा चोरी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनको सिक्री लुटपाट गर्ने, चोरीको सुन खरिद गर्ने तथा सार्वजनिक यातायातमा सिक्री चोरी गर्ने व्यक्ति रहेका छन्।
भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीका विभिन्न स्थानमा सुनको सिक्री लुटपाट गरेको आरोपमा चार जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने भोजपुर रामप्रसादराई गाउँपालिका–२ घर भएका ३२ वर्षीय योगेन्द्र तामाङ र पेप्सिकोला बस्ने रामेछाप दोरम्बा गाउँपालिका–२ ढोईगाउँका ३६ वर्षीय काले भन्ने देवेन्द्र थापा मगर रहेका छन्।
उनीहरू सुनको सिक्री लुटपाटमा संलग्न रहेको प्रहरीको भनाइ छ। त्यस्तै, चोरी भएको सुन खरिद गरेको आरोपमा काठमाडौं महानगरपालिका–१८ नरदेवी बस्ने भोजपुर रामप्रसादराई गाउँपालिका–६ मालबासेका ४० वर्षीय मिलन विक र भेडासिंह बस्ने भारतको पश्चिम बंगाल, कलकत्ताका ४० वर्षीय संजित साम्नत पक्राउ परेका छन्।
प्रहरीका अनुसार गत असार २६ गते लोकन्थलीस्थित बिग मार्ट नजिकै तथा असार ३० गते लोकन्थली हनुमान चोकमा मोटरसाइकलमा आएका दुई अपरिचित व्यक्तिले पैदल हिँडिरहेका महिला तथा ज्येष्ठ नागरिकको घाँटीमा लगाएको सुनको सिक्री जबरजस्ती तानेर फरार भएका थिए।
घटनाको अनुसन्धानका क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।
यसैगरी, सार्वजनिक यातायातमा सुनको सिक्री चोरी गरेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भक्तपुर बस्ने सोलुखुम्बु घर भएका ३१ वर्षीय अजय बस्नेत र भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बस्ने झापा दमक नगरपालिका–६ घर भएका ४३ वर्षीय भविन्द्र विक रहेका छन्।
प्रहरीका अनुसार गत साउन २७ गते पुरानो बसपार्कबाट बिजुली बजारतर्फ जाने सार्वजनिक यातायातमा सवार एक व्यक्तिको घाँटीमा लगाएको सुनको सिक्री चोरी भएको थियो। उक्त घटनाको अनुसन्धानका क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुसहितबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो।
पक्राउ परेका ६ जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी वृत्तमा पठाइएको प्रहरीले जनाएको छ। लुटपाटको घटनामा पक्राउ परेका चार जनालाई प्रहरी वृत्त सातदोबाटो, ललितपुर तथा सार्वजनिक यातायातमा चोरीमा संलग्न दुई जनालाई प्रहरी वृत्त सिंहदरबार, काठमाडौं पठाइएको छ।


