CLI

गाँजा खेतीलाई तत्काल कानुनी मान्यता दिन सांसदको माग

काठमाडौं । नेकपा (एमाले) का सांसद राजेन्द्रकुमार राईले गाँजा खेतीलाई तत्काल कानुनी मान्यता दिन सरकारसँग माग गरेका छन्। उनले गाँजा खेतीलाई आर्थिक समृद्धिको आधार बनाउन आवश्यक कानुन तथा कार्यविधि निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

मंगलबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद राईले गाँजा खेतीका कारण आफ्नो निर्वाचन क्षेत्र धनकुटाका युवाहरू कानुनी झमेलामा परेको र जेलमा जाने अवस्था सिर्जना भएको भन्दै चिन्ता व्यक्त गरे।

उनले गाँजालाई औषधीय प्रयोजनमा उपयोग गर्न सकिने भन्दै विश्वका विभिन्न मुलुकले यसको व्यावसायिक उपयोगबाट आर्थिक लाभ लिइरहेको दाबी गरे। नेपालले पनि गाँजालाई वैधानिक दायरामा ल्याएर आर्थिक लाभ लिन सक्ने उनको भनाइ थियो।

राईले गाँजाबाट क्यान्सर, क्षयरोग, मधुमेह तथा युरिक एसिडलगायत रोगका लागि औषधि बनाउन सकिने उल्लेख गर्दै नेपालमा गाँजा प्रशोधन केन्द्र स्थापना गर्नुपर्नेमा जोड दिए।

पहाडी जिल्लाबाट भइरहेको तीव्र बसाइँसराइ रोक्न तथा स्थानीयस्तरमै रोजगारी सिर्जना गर्न गाँजा खेती महत्वपूर्ण माध्यम बन्न सक्ने उनले बताए। गण्डकी प्रदेशले गाँजा खेतीसम्बन्धी कानुनी व्यवस्था अघि बढाएको उदाहरण दिँदै संघीय सरकारले पनि यस विषयमा ढिलाइ गर्न नहुने उनको भनाइ थियो।

‘१८ देखि ३० वर्ष उमेर समूहका धेरै युवाहरू जीविकोपार्जनका लागि गाँजा खेती गर्दा आज जेलमा छन्। यसले गर्दा धनकुटाका जनतामा निराशा र त्रास छाएको छ,’ राईले भने।

गाँजाबाट जुत्ता, मोजा, टोपीलगायत विभिन्न सामग्री उत्पादन तथा प्रयोग भइरहेको उल्लेख गर्दै उनले व्यावसायिक खेती र बिक्रीमा मात्रै प्रतिबन्ध लगाउनुको औचित्यमाथि प्रश्न उठाए।

त्यस्तै, गाँजा ओसारपसार तथा खेतीको आरोपमा पक्राउ परेका निर्दोष युवालाई तत्काल रिहा गर्नसमेत उनले माग गरे।

समयमै आवश्यक कानुन निर्माण नगरे जनतामा बढ्दै गएको असन्तुष्टि विद्रोहको रूप लिन सक्ने चेतावनी दिँदै राईले प्राकृतिक स्रोतका रूपमा रहेको गाँजालाई कानुनी र व्यवस्थित दायरामा ल्याउनुपर्ने बताए।

नेपालको अर्थतन्त्र सुदृढ गर्न गाँजाको औषधीय तथा औद्योगिक सम्भावनालाई उपयोग गर्न सकिने भन्दै उनले यसका लागि सरकारले स्पष्ट नीति, कानुन र कार्यविधि तत्काल निर्माण गर्नुपर्नेमा जोड दिए।

Leave Your Comment

Related News