काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा प्राथमिक सेयर (आईपीओ) निष्कासनका लागि चार कम्पनीले आवेदन दिएका छन्। मकरीगाड हाइड्रोपावर, कालिञ्चोक इन्भेष्टमेन्ट कम्पनी, इन्द्रेणी मसरुम फार्म र मध्यपुर अस्पतालले साउन महिनाभित्र आईपीओ निष्कासनको अनुमति मागेका हुन्।
यी चारवटै कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ निष्कासन गर्ने गरी बोर्डमा आवेदन दिएका छन्।
मकरीगाड हाइड्रोपावर लिमिटेडले २२ लाख २७ हजार ५०० कित्ता आईपीओ निष्कासनका लागि साउन २२ गते आवेदन दिएको हो। कम्पनीको आईपीओ बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ।
त्यस्तै, इन्द्रेणी मसरुम फार्म लिमिटेडले पनि साउन २२ गते नै ८ लाख ७५ हजार कित्ता आईपीओ निष्कासनका लागि आवेदन दिएको छ। कम्पनीको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ।
साउन २२ गते नै मध्यपुर अस्पताल लिमिटेडले २८ लाख कित्ता आईपीओ निष्कासनको अनुमति माग्दै बोर्डमा आवेदन दिएको छ। अस्पतालको आईपीओ बिक्री प्रबन्धकको जिम्मेवारी पनि मुक्तिनाथ क्यापिटलले पाएको छ।
कालिञ्चोक इन्भेष्टमेन्ट कम्पनीले भने साउन २९ गते २४ लाख कित्ता आईपीओ निष्कासनका लागि अनुमति मागेको हो। कम्पनीको आईपीओ बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ।
यी चार कम्पनीले कुल ८२ लाख २ हजार ५०० कित्ता आईपीओ निष्कासनका लागि अनुमति मागेका छन्। अंकित मूल्यका आधारमा यी कम्पनीले कुल ८२ करोड २ लाख ५० हजार रुपैयाँ बराबरको प्राथमिक सेयर निष्कासन गर्ने प्रस्ताव गरेका छन्।
यसैबीच, बोर्डले गत वैशाख २ गतेपछि कुनै पनि कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छैन। प्राथमिक बजार सुधारका विभिन्न योजना अघि सारेको बोर्डले नीतिगत सुधारपछि मात्रै आईपीओ निष्कासनको अनुमति प्रक्रिया अघि बढाउने बताउँदै आएको छ।
यसले गर्दा बोर्डमा आवेदन दिएर अनुमति पर्खिरहेका कम्पनीको संख्या बढ्दै गएको छ। प्राथमिक बजारसम्बन्धी नीतिगत सुधारपछि मात्रै नयाँ आईपीओ निष्कासनको प्रक्रिया अघि बढ्ने भएकाले आवेदन दिएका यी चार कम्पनीको आईपीओले पनि बोर्डको निर्णय कुर्नुपर्ने अवस्था रहेको छ।


