CLI

गृहमन्त्री गुरुङको स्पष्टीकरण : ‘आफ्नो भोटरसँग जोक गर्न हुँदैन त ?’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले केही दिनअघि आफ्नो निर्वाचन क्षेत्र गोरखा–१ का मतदातालाई लक्षित गर्दै दिएको ‘भोट फिर्ता लैजानुस्’ भन्ने अभिव्यक्ति आफूले मजाकका रूपमा दिएको बताएका छन्।

बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै गुरुङले उक्त अभिव्यक्ति मतदातासँग गरिएको ‘जोक’ भएको दाबी गरेका हुन्।

सञ्चारकर्मीले सो अभिव्यक्तिबारे प्रश्न गरेपछि गुरुङले केही झोक्किँदै भने, ‘आफ्नो भोटरसँग जोक गर्न हुँदैन त ?’

केही दिनअघि गोरखा–१ का मतदातासँगको भेटघाटका क्रममा गुरुङले निर्वाचनका बेला आफूले गरेको प्रतिबद्धताअनुसार स्वास्थ्य सामग्री उपलब्ध नभएको भन्दै स्थानीयले गुनासो गरेपछि ‘भोट फिर्ता लैजानुस्’ भन्ने अभिव्यक्ति दिएका थिए।

उक्त अभिव्यक्तिको सामाजिक सञ्जाल तथा राजनीतिक वृत्तमा आलोचना भएपछि गृहमन्त्री गुरुङले आफूले गम्भीर रूपमा नभई मतदातासँगको कुराकानीका क्रममा ठट्टाका रूपमा उक्त कुरा भनेको स्पष्टीकरण दिएका हुन्।

Leave Your Comment

Related News