काठमाडौं । सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने तयारीमा रहेको वाटर इनर्जी सोलुसन लिमिटेडले भदौ २६ गते नवौँ वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीले २०८२ पुस २७ गते सम्पन्न आठौँ वार्षिक साधारण सभाबाट सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेको छ । सोही प्रक्रियालाई अघि बढाउन कम्पनीले आगामी भदौ २६ गते साधारण सभा आह्वान गरेको हो ।
भदौ ३ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको रजिस्टर्ड कार्यालय कौशलटारमा बिहान ११ बजे साधारण सभा गर्ने निर्णय गरेको हो ।
सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण पारित गर्नेछ । यस्तै, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत सभामा पेश हुनेछ ।
यसका साथै सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न आवश्यक सम्पूर्ण प्रक्रिया अघि बढाउने तथा त्यससम्बन्धी आवश्यक कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि सभामा पेश गरिनेछ ।
८.३ मेगावाटको आयोजना निर्माणाधीन
वाटर इनर्जी सोलुसनले इलाम जिल्लामा ८.३ मेगावाट क्षमताको अपर देउमाई खोला स्मल हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । आयोजनाको निर्माण लागत १ अर्ब ६५ करोड रुपैयाँभन्दा बढी हुने अनुमान गरिएको छ ।
कम्पनीका अनुसार आयोजनाको हालसम्म ८५.६३ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ । आयोजनाबाट आगामी असार ३१ गतेभित्र व्यावसायिक विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ ।
आईपीओ निष्कासनपछि सर्वसाधारणको समेत लगानी सहभागी गराउने तयारीमा रहेको कम्पनीले आयोजना निर्माणलाई तीव्रता दिएको जनाएको छ ।



