काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा फेरि समस्या देखिने संकेत भएको छ। बञ्चरेडाँडाका स्थानीयले वैज्ञानिक र व्यवस्थित ढंगले फोहोर व्यवस्थापन नभएको भन्दै काठमाडौं उपत्यकाबाट फोहोर बोकेर गएका गाडीलाई एक घण्टा रोकेका छन्।
स्थानीयका अनुसार फोहोरबाट निस्किएको दुर्गन्ध गाउँभर फैलिनुका साथै लिच्चेड खोलामा मिसिने समस्या बढेको छ। विगतमा सरकारसँग भएका सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयले चरणबद्ध आन्दोलन सुरु गरेका हुन्।
सिसडोल–बञ्चरेडाँडा फोहोर व्यवस्थापन सरोकार केन्द्रका अध्यक्ष निरञ्जन सन्जेलले तत्काल माग सम्बोधन नभए फोहोर विसर्जन नै रोक्ने चेतावनी दिए। उनका अनुसार शनिबार बिहान फोहोर बोकेर बञ्चरेडाँडा पुगेका गाडीलाई एक घण्टा रोकिएको हो।
‘आज बिहान एक घण्टाका लागि बञ्चरेडाँडामा रोकेका हौँ। १५ दिनभित्र माग सम्बोधन नभए फोहोर खन्याउन रोक लगाउँछौँ,’ सन्जेलले भने, ‘फोहोर र मान्छे सँगै बस्ने स्थिति छैन।’
लिच्चेड व्यवस्थापन मुख्य समस्या
स्थानीयले ल्यान्डफिल साइटबाट निस्किएको लिच्चेड व्यवस्थापन हुन नसकेको भन्दै आपत्ति जनाएका छन्। कुहिने र नकुहिने फोहोर छुट्याएर व्यवस्थापन नगरिँदा लिच्चेडको मात्रा बढेको र त्यसले ड्याम्प भरिएको स्थानीयको भनाइ छ।
उनीहरूले अन्तर्राष्ट्रिय मापदण्डअनुसार फोहोरबाट प्रभावित क्षेत्रको जग्गा अधिग्रहण गर्नुपर्ने, लिच्चेडको उचित व्यवस्थापन गर्नुपर्ने तथा प्रभावित बस्तीका बासिन्दाका लागि स्वास्थ्य र शिक्षामा विशेष व्यवस्था गर्नुपर्ने माग अघि सारेका छन्।
त्यस्तै स्थानीयलाई रोजगारीको व्यवस्था गर्नुपर्ने माग पनि उनीहरूले राखेका छन्। यी माग १५ दिनभित्र पूरा नभए फोहोर विसर्जनमा पूर्ण रोक लगाउने उनीहरूको चेतावनी छ।
२१ पालिकाको फोहोर बञ्चरेडाँडामा
काठमाडौं उपत्यकासहित २१ वटा पालिकाबाट दैनिक उत्पादन हुने फोहोर सिसडोल–बञ्चरेडाँडा क्षेत्रमा व्यवस्थापन हुँदै आएको छ।
२० वर्षका लागि निर्माण गरिएको भनिएको बञ्चरेडाँडा ल्यान्डफिल साइटमा छोटो अवधिमै फोहोरको ठूलो थुप्रो बनेको स्थानीयको गुनासो छ। चार वर्षदेखि बञ्चरेडाँडामा फोहोर विसर्जन हुँदै आएको हो। त्यसअघि करिब १७ वर्षसम्म सिसडोलमा उपत्यकाको फोहोर फालिँदै आएको थियो।
स्वास्थ्य र कृषि प्रभावित भएको स्थानीयको गुनासो
फोहोर व्यवस्थापनको असरका कारण स्थानीयको स्वास्थ्य तथा जीविकोपार्जनमा समेत समस्या परेको स्थानीयको दाबी छ। उनीहरूका अनुसार झाडापखाला, टाइफाइड, श्वासप्रश्वास तथा छालासम्बन्धी समस्याका बिरामी बढेका छन्।
त्यस्तै क्यान्सर, मुटु तथा मिर्गौलासम्बन्धी गम्भीर रोगको समस्या पनि बस्तीमा देखिएको स्थानीयको गुनासो छ। फोहोरबाट निस्कने दुर्गन्ध र प्रदूषणका कारण कृषि उत्पादन घट्नुका साथै पशुपक्षी पालनमा समेत असर परेको उनीहरू बताउँछन्।
स्थानीयका माग तत्काल सम्बोधन नभए फोहोर विसर्जनमा रोक लगाउने चेतावनीसँगै काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन पुनः चुनौतीपूर्ण बन्ने देखिएको छ।



