काठमाडौं । रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा र तनहुँ लगायतका जिल्लाहरू गम्भीर रूपमा प्रभावित भएका छन्। विपद्मा परेका नागरिकहरूको खोज तथा उद्धार कार्यलाई तीव्रता दिन स्थानीय प्रशासन तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण एवं व्यवस्थापन प्राधिकरणले वायुसेवा संचालक संघ नेपाल, नेपाल ड्रोन संघ लगायत हेलिकोप्टर र ड्रोनसँग सम्बन्धित सबै संघ-संस्थाहरूलाई जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र स्थानीय तहसँग समन्वय गरी तत्काल सहकार्य गर्न विशेष अनुरोध गरेको छ।
साथै, उद्धारको पर्खाइमा रहेका व्यक्तिहरूलाई उद्धार टोलीको ध्यान आकर्षित गर्न आफू रहेको वा बसेको स्थानमा आगो बालेर वा धुवाँ निकालेर संकेत गर्न भनिएको छ।
विशेष गरी हेलिकोप्टरमार्फत गरिने उद्धारका लागि सम्बन्धित जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई प्रत्यक्ष सम्पर्क गर्न आग्रह गरिएको छ। यसका लागि रसुवा (प्रमुख: ९८५१२७७७७७, सहायक: ९८५११६४४२२), नुवाकोट (प्रमुख: ९८५११४७७७७, सहायक: ९८५१२४८७७७), धादिङ (प्रमुख: ९८५१२४७७७७, सहायक: ९८५११९६१३१), चितवन (प्रमुख: ९८५५०१७७७७, सहायक: ९८५५०८८८९१), गोरखा (प्रमुख: ९८५६०५७७७७, सहायक: ९८५६०५७७७८) र तनहुँ (प्रमुख: ९८५६०६७७७७, सहायक: ९८५६००११११) का अधिकारीहरूसँग सम्पर्क गर्न सकिनेछ। आपतकालीन परिस्थितिमा सबै जिल्लाबाट DEOC नम्बर १२३४ लगायत सम्बन्धित जिल्लाका नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सम्पर्क नम्बरहरूमा सोझै सम्पर्क गरी उद्धारमा सहजीकरण गर्न सकिने व्यवस्था मिलाइएको छ।



