CLI
Global College

भोटेकोशी बाढीलाई राष्ट्रिय विपद् घोषणा गर्न सांसद आचार्यको माग

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै प्रतिनिधिसभा सदस्य मोहन आचार्यले बाढीलाई राष्ट्रिय विपद् घोषणा गरी तत्काल उद्धार तथा राहत कार्यलाई तीव्रता दिन सरकारसँग माग गरेका छन्।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद आचार्यले बाढीले बस्ती, पक्की पुल, जलविद्युत् आयोजना लगायतका महत्वपूर्ण संरचनामा क्षति पुर्‍याएको बताए। उनले ठूलो मानवीय क्षति भएको उल्लेख गर्दै विपद्को यस घडीमा सरकारले उद्धार र राहतलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताए।

आचार्यले प्रभावित क्षेत्रमा राज्यका सम्पूर्ण संयन्त्र तत्काल परिचालन गरी खोजी, उद्धार, उपचार तथा राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए।

बैठकमा नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसी र बसुमाया तामाङले पनि भोटेकोशी बाढीबाट प्रभावित नागरिकको तत्काल उद्धार तथा राहतका लागि सरकार गम्भीरतापूर्वक अघि बढ्नुपर्ने माग गरे। उनीहरूले जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुका साथै प्रभावित क्षेत्रमा आवश्यक मानवीय सहायता तत्काल पुर्‍याउन आग्रह गरे।

यसैबीच, सरकारले भोटेकोशी बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन्।

सरकारको निर्णयसँगै प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारी संयन्त्रलाई थप सक्रिय बनाउने बाटो खुलेको छ।

Leave Your Comment

Related News