काठमाडौं । रसुवा, नुवाकोट, धादिङ र गोरखामा भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म १२७ नेपालीसहित कुल ६४४ जना पर्यटक तथा यात्रु सम्पर्कविहीनरबेपत्ता भएको पहिचान गरिएको छ।
ट्रेकिङ तथा ट्राभल कम्पनीहरूबाट प्राप्त प्रारम्भिक विवरणअनुसार प्रभावित क्षेत्रबाट १२७ नेपालीसहित कुल ६४४ जना पर्यटक तथा यात्रु सम्पर्कविहीनरबेपत्ता भएको पहिचान गरिएको बताइएको छ। सम्बन्धित ट्राभल एजेन्सी, गाइड, स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग समन्वय गरी प्राप्त विवरणको प्रमाणीकरण तथा पुनःजाँच भइरहेको छ।
नेपाल पर्यटन बोर्डको विवरणअनुसार, रसुवामा आएको बाढीमा कुल ६४४ जना नेपाली तथा विदेशी नागरिक बेपत्ता रहेको उल्लेख छ। यसमध्ये १२७ जना नेपाली र ५१७ जना विदेशी नागरिक रहेका छन्।
सबैभन्दा धेरै बेपत्ता हुनेमा भारतका १७८ जना, नेपालका १२७ जना, अमेरिकाका ६५ जना, युक्रेनका ५३ जना, मलेसियाका ५१ जना, अष्ट्रेलियाका ३५ जना र बेलायतका ३३ जना छन्।
भोटेकोशी र त्रिशूली नदी आसपासका चार जिल्लाका नदी तटीय क्षेत्रहरूमा ठूलो क्षति पुगेको जनाइएको छ भने अन्य क्षेत्रहरू भने प्रभावित नभएको बताइएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी तथा पर्यटन क्षेत्रसँग सम्बन्धित सरोकारवाला निकायहरू प्रभावित क्षेत्रमा रहेका तथा ती क्षेत्र हुँदै यात्रा गरिरहेका पर्यटक र यात्रुहरूको अवस्था तथा सुरक्षाबारे जानकारी लिने कार्यमा जुटेका छन्।
घाइते तथा प्रभावित क्षेत्रमा फसेका व्यक्तिहरूको उद्धार तथा सुरक्षित स्थानान्तरणका लागि सबै प्रयास भइरहेको बताइएको छ।





