काठमाडौं । राफिन्हा र लामिन यामालले समान २ गोल गरेपछि बार्सिलोनाले रायो भालेसानोलाई ५-२ ले पराजित गर्दै स्पेनिस ला लिगामा लगातार तेस्रो जित दर्ता गरेको छ। खेलको १२ औं मिनेटमा रायो भालेसानोले सर्जियो कामेलोको गोलमार्फत सुरुवाती अग्रता लियो। तर १९ औं मिनेटमा राफिन्हाले उत्कृष्ट व्यक्तिगत कौशल देखाउँदै गोल गरेपछि बार्सिलोना खेलमा फर्कियो।
त्यसपछि २१ औं मिनेटमा लामिन यामालले पेनाल्टी क्षेत्रको ठीक भित्रबाट शक्तिशाली प्रहार गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाए। ५१ औं मिनेटमा फ्लोरियाँ लेज्युनले आफ्नै पोस्टमा गोल गरेपछि बार्सिलोनाको अग्रता ३-१ मा पुग्यो।
रायो भालेसानोका लागि कामेलोले ५९ औं मिनेटमा दोस्रो गोल गर्दै खेलमा फर्किने सम्भावना जगाए। तर राफिन्हाले ७१ औं मिनेटमा फेरि गोल गर्दै बार्सिलोनाको अग्रता ४-२ बनाए। अन्तिम मिनेटमा यामालले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनाले ५-२ को सहज जित निश्चित गर्यो। यो गोलसँगै बार्सिलोनाका लागि यामालको गोलसंख्या ५१ पुगेको छ।
राफिन्हाले पनि सिजनको सुरुवाती ३ ला लिगा खेलमा ५ गोल पूरा गरेका छन्। उनी सन् २०१७ मा लियोनल मेस्सीपछि ला लिगाको सुरुवाती ३ खेलमै ५ गोल गर्ने बार्सिलोनाका पहिलो खेलाडी बनेका छन्। ३ खेलबाट ९ अंकसहित बार्सिलोना र रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा छन् । रायो भालेसानोले ३ खेलबाट १ अंक मात्र जोडेको छ।



