काठमाडौं । आज भदौ १६ गते अर्थात् ‘करदाता प्रोत्साहन पुरस्कार’ को विजेता छान्ने दिन, तर हाल देशको परिस्थिति र विपद्को परिस्थितिलाई ध्यानमा राख्दै विजेता छनोट प्रक्रियालाई कुनै ठूलो औपचारिक समारोह नगरी सादा रुपमा सम्पन्न गरिने मन्त्रालयले जनाएको छ ।
रसुवा, नुवाकोट लगायतका क्षेत्रमा भोटेकोशीको बाढी र पहिरोले पुर्याएको अपूरणीय जनधनको क्षति तथा राष्ट्रिय शोकको अवस्थालाई मध्यनजर गर्दै अर्थ मन्त्रालयले सार्वजनिक घोषणा कार्यक्रम आयोजना नगर्ने निर्णय गरेको हो। मन्त्रालयका अनुसार कार्यविधि तथा बजेटमार्फत आएको व्यवस्था भएकाले कार्यक्रम रोक्न नमिल्ने भए तापनि बाढीपहिरोको विपद्को अवस्थालाई ध्यानमा राख्दै विभागले यस्तो निर्णय गरेको हो।
मन्त्रालयलेका अनुसार दिउँसो ३:३० बजे लाजिम्पाटस्थित आन्तरिक राजस्व विभागमा सीमित अधिकारीहरु र थोरै संख्यामा आमन्त्रित सञ्चारकर्मीहरुको उपस्थितिमा निष्पक्ष तरिकाले पुरस्कार छनोट गरिनेछ।
छनोट प्रक्रिया सकिएलगत्तै छानिएका विजेताहरुको आधिकारिक सूचना टाँस गरी नतिजा सार्वजनिक गरिने जनाइएको छ। पहिले जस्तो भव्य वा औपचारिक घोषणा कार्यक्रम भने आयोजना गरिने छैन।
हालसम्म साउन महिनामा २ जनाले रु. १०-१० लाख बम्पर उपहार पाएका छन् भने ३३ जनाले रु. १-१ लाख पाएका छन्।



