काठमाडौं । रसुवा र नुवाकोट क्षेत्रमा भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीले ११ वटा वाणिज्य बैंकका १७ वटा शाखा तथा काउन्टर पूर्ण रुपमा ध्वस्त पारेको छ।तथ्याङ्क अनुसार रसुवा र नुवाकोटका १७ वटा बैंक शाखाको कुल ७८ हजार २०४ जानाको ४ अर्ब ४३ करोड १८ लाख रुपैयाँ निक्षेप प्रभावित भएको छ । त्सयतै ,५५ करोड ६८ लाख ७० हजार ५१७ रुपैयाँ बराबरको स्थिर सम्पत्ति नष्ट भएको अनुमान गरिएको छ। यो भल्टमा रहेको नगदबाहेक हो।
निक्षेप, कर्जा र नोक्सानी?
कृषि विकास बैंकको नुवाकोट स्थित त्रिशूली शाखामा बाढीले व्यापक क्षति पुर्याएको छ। आफ्नै भवनमा सञ्चालित यो शाखा पूर्ण रुपमा ध्वस्त हुँदा बैंकको ५० करोड रुपैयाँ बराबरको भौतिक सम्पत्ति नष्ट भएको छ। यस शाखामा रहेका ९ हजार १ सय ३६ निक्षेपकर्ताको ५९ करोड ५२ लाख निक्षेप रुपैयाँ र १ हजार ३ सय ५६ ऋणीलाई प्रवाह गरिएको १ अर्ब ३७ करोड ७४ लाख रुपैयाँ कर्जा जोखिममा परेको छ भने भल्टमा रहेको रु १ करोड ७१ लाख नगद प्रभावित भएको छ। यद्यपि, १ जना कर्मचारी घाइते भए पनि अन्य सबै कर्मचारी भने सुरक्षित रहेका छन्।
सिटिजन्स बैंकको नुवाकोट स्थित देवीघाट शाखा भाडाको भवनमा रहेकामा बाढीका कारण पूर्ण रुपमा क्षतिग्रस्त बनेको छ। यसबाट बैंकलाई १ करोड २० लाख रुपैयाँ बराबरको भौतिक नोक्सानी भएको छ। ५ हजार १४ वटा खातामा रहेको ३८ करोड ३९ लाख रुपैयाँ निक्षेप तथा ७८ वटा खातामार्फत दिइएको ८ करोड ८८ लाख रुपैयाँ कर्जा लगानी प्रभावित भएको छ भने भल्टमा रहेको १ करोड ९ लाख रुपैयाँ नगद जोगाउन चुनौती भएको छ। यस शाखाका सबै कर्मचारी भने सकुशल रहेका छन्।
ग्लोबल आइएमई बैंकको रसुवा स्थित टिमुरे शाखा पूर्ण रुपमा ध्वस्त हुँदा १ जना कर्मचारी सम्पर्कविहीन बनेका छन् भने अन्य ४ जना सुरक्षित रहेका छन्। भाडाको भवनमा रहेको यस शाखामा ८ लाख ७४ हजार रुपैयाँको भौतिक क्षति पुगेको छ। ३ हजार ३ सय ३५ निक्षेपकर्ताको २४ करोड ४६ लाख रुपैयाँ निक्षेप र २१ कर्जा खातामा रहेको १ करोड १ लाख रुपैयाँ कर्जा जोखिममा परेको छ भने भल्टमा ६९ लाख ४ हजार रुपैयाँ नगद मौज्दात रहेको थियो।
हिमालयन बैंकको रसुवा स्थित बेत्रावती शाखा पनि बाढीको चपेटामा परी पूर्ण रुपमा क्षति भएको छ, जहाँ १ जना कर्मचारी अझै बेपत्ता छन्। भाडाको घरमा सञ्चालित यस शाखाको ५७ लाख ९१ हजार रुपैयाँ बराबरको सम्पत्ति नष्ट भएको छ। १४ हजार ४ सय ४२ निक्षेपकर्ताको रु ७६ करोड ६५ लाख निक्षेप र १२१ जना ऋणीको २९ करोड ७२ लाख रुपैयाँ कर्जा लगानी प्रभावित भएको छ भने भल्टमा र २ करोड ५६ लाख नगद रुपैयाँ रहेको थियो।
लक्ष्मी सनराइज बैंकको रसुवा स्थित टिमुरे शाखा पूर्ण रुपमा बगेपछि २ जना आउटसोर्स कर्मचारी बेपत्ता भएका छन्। यस शाखाको ८६ लाख रुपैयाँको भौतिक सम्पत्ति नोक्सान भएको छ। शाखामा रहेका ५ सय ५२ खाताको ५ करोड ८२ लाख रुपैयाँ निक्षेप र २९ कर्जा खाताको २ करोड ४१ लाख रुपैयाँ कर्जा लगानी जोखिममा परेको छ भने भल्टमा ७५ लाख १८ हजार नगद रुपैयाँ रहेको थियो।
माछापुच्छ्रे बैंकको रसुवा स्थित टिमुरे शाखामा बाढीले ठूलो मानवीय र भौतिक क्षति पुर्याएको छ, जहाँ ५ जना कर्मचारी बेपत्ता भएका छन् भने १ जना मात्र सुरक्षित फेला परेका छन्। भाडाको भवन पूर्ण रुपमा क्षतिग्रस्त हुँदा ५७ लाख ४४ हजार रुपैयाँको भौतिक नोक्सानी भएको छ। ६ सय ८५ निक्षेपकर्ताको ६ करोड ९८ लाख रुपैयाँ निक्षेप र ६ वटा कर्जा खाताको ८३ लाख ९५ हजार रुपैयाँ कर्जा प्रभावित भएको छ भने भल्टमा ४५ लाख ८ हजार रुपैयाँ नगद रहेकोथियो।
नबिल बैंकको रसुवा स्थित टिमुरे शाखा पूर्ण रुपमा ध्वस्त भए पनि कार्यरत ५ जना कर्मचारी भने सुरक्षित रहन सफल भएका छन्। भाडाको भवनमा रहेको यस शाखामा ४८ लाख २२ हजार रुपैयाँको भौतिक क्षति पुगेको छ। ५ सय ३५ निक्षेपकर्ताको ५ करोड ५२ लाख रुपैयाँ निक्षेप र भल्टमा रहेको ३० लाख ६२ हजार रुपैयाँ नगद प्रभावित भएको छ भने यस शाखाबाट कुनै कर्जा प्रवाह भएको थिएन।
एनआईसी एशिया बैंकको बेत्रावती शाखा पूर्ण रुपमा क्षतिग्रस्त भएको छ। शाखामा ५ हजार ७८१ निक्षेप खातामा २५ करोड ६० लाख ८ हजार २७९ रुपैयाँ निक्षेप रहेको थियो। ५१ कर्जा खातामा ६ करोड ९५ लाख १७ हजार ३५० रुपैयाँ कर्जा रहेको छ। पाँचै जना कर्मचारी सुरक्षित छन्। भल्टमा १ करोड २० लाख ६८ हजार ८४७ रुपैयाँ नगद थियो।
एनआईसी एशिया बैंकको स्याफ्रुबेँसी शाखा पूर्ण रुपमा क्षतिग्रस्त भएको छ। शाखामा ५ हजार ३२२ निक्षेप खातामा २८ करोड ९९ लाख ८ हजार ९२ रुपैयाँ निक्षेप रहेको थियो । ७९ कर्जा खातामा १३ करोड ७३ लाख २१ हजार ६५० रुपैयाँ कर्जा रहेको थियो। पाँचै जना कर्मचारी सुरक्षित छन्। भल्टमा ६० लाख २७ हजार २७९ रुपैयाँ नगद थियो।
एनआईसी एशिया बैंकको त्रिशूली शाखा भने गम्भीर रुपमा क्षतिग्रस्त भएको छ। शाखामा २ हजार २६८ निक्षेप खातामा १३ करोड २७ लाख २२ हजार ५३८ रुपैयाँ निक्षेप र ७० कर्जा खातामा १३ करोड ४७ लाख १३ हजार ४९२ रुपैयाँ कर्जा रहेको थियो। ६ कर्मचारी सबै सुरक्षित छन्। भल्टमा ६९ लाख ९६ हजार १३८ रुपैयाँ नगद रहेको थियो।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक का रसुवा स्थित टिमुरे र स्याफ्रुबेँसी शाखा तथा मैलुङ एक्सटेन्सन काउन्टर पूर्ण रुपमा ध्वस्त भएका छन्। बाढीका कारण स्याफ्रुबेँसीमा ५ जना, टिमुरेमा १ जना र मैलुङमा १ जना गरी कुल ७ जना कर्मचारी बेपत्ता भएका छन् भने १ जना घाइते भएका छन्। यी शाखाहरुमा कुल ८६ करोड ६५ लाख रुपैयाँ निक्षेप र ९ करोड ४२ लाखरुपैयाँ कर्जा लगानी रहेको थियो भने भल्टहरुमा ३ करोड ५४ लाख रुपैयाँ नगद मौज्दात रहेको थियो।
एनएमबि बैंकको रसुवा स्थित टिमुरे शाखा पूर्ण रुपमा क्षतिग्रस्त हुँदा ३ जना कर्मचारी र १ जना आउटसोर्स सुरक्षाकर्मी गरी ४ जना सम्पर्कविहीन भएका छन्। यस शाखामा २ लाख ७५ हजार रुपैयाँको भौतिक क्षति भएको छ। ३ हजार ९ सय ७५ निक्षेपकर्ताको ९ करोड ४३ लाख रुपैयाँ निक्षेप र ३७ कर्जा खाताको ५१ लाख ५४ हजार रुपैयाँ कर्जा जोखिममा परेको छ भने भल्टमा ७३ लाख ४१ हजार रुपैयाँ नगद रहेको थियो।
प्रभु बैंकका रसुवा स्थित टिमुरे र स्याफ्रुबेँसी दुवै शाखाहरु पूर्ण रुपमा ध्वस्त भएका छन्। दुवै शाखाबाट २/२ जना गरी कुल ४ जना कर्मचारी बेपत्ता भएका छन् भने २ जना घाइते भएका छन्। टिमुरे र स्याफ्रुबेँसी शाखामा गरी कुल ४४ करोड ३४ लाख रुपैयाँ निक्षेप र ९ करोड ६७ लाख रुपैयाँ कर्जा लगानी रहेको थियो। दुवै शाखामा गरी ४० लाख ९३ हजार रुपैयाँको भौतिक क्षति पुगेको छ भने भल्टमा २ करोड ५४ लाख नगद रुपैयाँ रहेको थियो।
सानिमा बैंकको रसुवा स्थित टिमुरे शाखा पूर्ण रुपमा बगेपछि २ जना कर्मचारी बेपत्ता भएका छन् भने ४ जना सुरक्षित रहेका छन्। भाडाको भवनमा रहेको यस शाखामा ४८ लाख ३८ हजार रुपैयाँ बराबरको भौतिक नोक्सानी भएको छ। २ हजार १ सय ४८ निक्षेप खाताको १७ करोड ५१ लाख रुपैयाँ निक्षेप र ९९ कर्जा खाताको ८ करोड ४१ लाख कर्जा प्रभावित भएको छ भने भल्टमा रु ३३ लाख २६ हजार नगद मौज्दात रहेको थियो।



