CLI
Global College

विपदपछि पुनर्निर्माणका लागि ठूलो वैदेशिक सहयोगको अपेक्षा, परराष्ट्रद्वारा उच्चस्तरीय कूटनीतिक पहल

काठमाडौं ।भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि सिर्जित भयानक क्षतिलाई सम्बोधन गर्न र पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि ठूलो वैदेशिक सहयोगको अपेक्षा गर्दै सरकारले परराष्ट्र मन्त्रालयमार्फत उच्चस्तरीय कूटनीतिक पहल तीव्र पारेको छ।

भोटेकोशी नदीमा  बाढी आएको सातौँ दिन पुग्दा परराष्ट्र मन्त्रालयले उद्धार, खोजी तथा राहत कार्यको पछिल्लो वस्तुस्थिति सार्वजनिक गरेको छ। मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा दिइएको जानकारी अनुसार हालसम्म १,०१० जनाको शव फेला परेको छ भने ११,८०० भन्दा बढी नागरिकलाई जीवितै उद्धार गरिएको छ।

उद्धार गरिएकाहरूमा ३२४ जना विदेशी नागरिक (५ जना सम्पर्कमा रहेकासहित) रहेका छन्। पछिल्लो अद्यावधिक विवरण अनुसार करिब ४ हजार स्वदेशी र ३९ देशका ५९० जना विदेशी नागरिक अझै बेपत्ता छन्। नागरिकको खोजी, उद्धार तथा राहतका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी २१,००० भन्दा बढी सुरक्षाकर्मीको एकीकृत बल खटाइएको छ।

जटिल र प्राविधिक उद्धारका लागि चिलिमे र लाङटाङ जलविद्युत् आयोजनामा भारतका २४ जना र माथिल्लो त्रिशूली ३ ‘ए’ आयोजनामा चीनका ९ जना विशेषज्ञ सुरुङ उद्धार टोली नेपाली सेनासँग मिलेर काम गरिरहेका छन्। साथै शव पहिचान र डिएनए  विश्लेषणका लागि भारतबाट १९ सदस्यीय र चीनबाट ४ सदस्यीय फरेन्सिक टोली खटिएका छन् भने सिङ्गापुरबाट ‘विपद् शिकार पहिचान’  टोली ल्याउन समन्वय भइरहेको छ।

शवहरूको चाप बढेको र तुरुन्तै पहिचान हुन नसकेको अवस्थालाई ध्यानमा राख्दै स्थापित मापदण्ड अनुसार डिएनए नमुना सङ्कलन गरी अस्थायी अन्त्येष्टि (Temporary Burial) गर्ने प्रक्रिया सुरु गरिएको छ। बेपत्ता नागरिकका नजिकका आफन्तहरूलाई डिएनए नमुना सङ्कलनका लागि काठमाडौंको नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज वा नजिकैको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ।

विदेशमा रहेका आफन्तहरूले आफ्नै देशमा डिएनए प्रोफाइल तयार पारी नेपाल प्रहरीको आधिकारिक इमेल ([email protected]) मा पठाउन सक्नेछन्। कूटनीतिक पहलअन्तर्गत सम्माननीय प्रधानमन्त्रीसँग जापानका प्रधानमन्त्रीले टेलिफोन संवाद गरी सहानुभूति व्यक्त गरेका  छन्  भने माननीय परराष्ट्र मन्त्रीले जापान, कतार, सिङ्गापुर, मलेसिया र क्यानडाका समकक्षीहरूसँग छलफल गरेका छन्। बाढीका कारण घर, सडक, पुल र जलविद्युत् आयोजनामा पुगेको क्षतिको पूर्ण विवरण ‘विपद्पछिको आवश्यकता आकलन’  मार्फत तयार गरी पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय समुदायसँग ठोस सहयोगको अपिल गरिने मन्त्रालयले जनाएको छ।

परराष्ट्र मन्त्रालयले अनधिकृत तथ्याङ्कमा विश्वास नगर्न र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA), नेपाल प्रहरी र नेपाल पर्यटन बोर्ड जस्ता आधिकारिक निकायबाट जारी हुने तथ्याङ्कमा मात्र भरोसा गर्न आग्रह गरेको छ।

Leave Your Comment

Related News