काठमाडौं । चीन पक्षले नेपाल चीन सीमामा रहेको तातोपानी नाका बन्द गरेसँगै नेपाली व्यवसायीहरु समस्यामा पर्ने भएका छन् । चीन पक्षले आफनोतर्फको नाकाबन्द गरे सँगै तातोपानी नाकाबाट आयात निर्यात दुवै ठप्प भएको छ ।
त्यस्तै तातोपानी नाका बन्द भए सँगै नेपाली व्यवसायी चीनसँगको व्यपारमा कारेला नाकामा भरपर्नु पर्ने भएको छ । तातोपानी नाका बन्द भए सँगै चीनबाट आयात गरिने सवारीसाधान, विद्युतीय सामग्री, लत्ताकपडा, फलफूल, लसुन, प्याज लगायतका सामग्री काठमाडौं ल्याउन नसकिने नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीले बताए । उनले चीनबाट आयात गरेका सामग्री चीनतर्फको भू भागमा रहेको हुँदा नाकाबन्द भए आयात गरेको सामग्री बिग्रने बताए ।‘आयात गरेको सामग्री चीनतर्फ रहेको त्यसमा बिग्रन सक्ने फलफुल, ड्राइफुटस, लत्ताकपडा लगायतका सामग्री रहेको छ । नाकाबन्द हुँदा नेपाली व्यवसायीको लाखौं लगानी घाटामा जान सक्ने सम्भावना रहेको छ,’ उनले भने,‘ त्यसैले तातोपानी नाका खुला गर्नु आवश्यक रहेको छ । हामीले सम्वन्धित निकायलाई समेत खुला गरिदिन आग्रह गरेका छौं ।’ अध्यक्ष कार्कीका साथै संघका पदाधिकारीहरुले परराष्ट्र मन्त्रालयका अधिकारीहरुलाई तातोपानी नाका खुला गर्न आग्रह गरेका छन् ।
भन्सार विभागले पनि चिनियाँ पक्षले बन्द भएको जानकारी दिएको जनाएको छ । चिनियाँ पक्षले एक/दुई दिनका लागि बन्द गर्ने मौखिक जानकारी दिएको विभागका निर्देशक किशोर बर्तौलाले बताए ।‘ चिनियाँ पक्षले मौखिक रुपमा तातोपानी भन्सार कार्यालयलाई एक÷दुई दिनका लागि भन्द गर्ने मौखिक जानकारी दिएका छन् । औपचारिक रुपमा त्यसबाहेक कुनै जानकारी आएको छैन , ’उनले इक्विटी नेपालसँग भने,‘ भन्सार विभाग र कार्यालयले नाका खुलाउने जिम्मेवारी भित्र पर्दैन यसका लागि वाणिज्य मन्त्रालयकोतर्फबाट बहुपक्षीय तथा द्धिपक्षीय व्यापार हेर्ने शाखाले समन्वय गर्नु आवश्यक रहेको छ ।’ तातोपानी नाका चिनियाँ पक्षले स्थायी रुपमा बन्द गरेको निर्देशक बर्तौलले इक्विटी नेपाललाई बताए । मन्त्रालयका सहसचिव नेत्र प्रसाद सुवेदीले नाका बन्दको बारेमा दुइपक्षीयले आ–आफनोतर्फबाट छलफल गरिरहेको छ । भूकम्पको कारणले संरचनाहरुमा असर परेको भन्दै केहि दिनका लागि नाका बन्द गरिएको जानकारी पाइएको उनले बताए ।
चीनसँगको प्रमुख व्यापारिक नाकाहरुमा रसुवा, कोरला र तातोपानी रहको पाइन्छ । भोटेकोशीमा आएको विनाशाकारी बाढीका कारण् रसुवा नाका बन्द रहेको छ भने तातोपानी नाका पनि बन्द गरे सँगै नेपाली पक्षलाई थप समस्या भएको हो । रसुवा नाकाबन्द भए पछि विकल्पको रुपमा तातोपानी नाका रहेको थियो यो पनि बन्द भए चीनसँगको व्यापार र आन्तरिक व्यापारसमेत प्रभावित हुने संघका पूर्व अध्यक्ष बच्चु पौडेलले इक्विटी नेपाललाई बताए । तातोपानी नाकाबाट आयात गर्दा ६० हजार लाग्ने भाडादर कोराला नाकाबाट आयात गर्दा २ लाख ५० हजार भाडा लाग्ने उनको भनाई छ । ‘तातोपानी देखि काठमाडौंसँग सामग्री ल्याउदा ढुवानीभाडा ६० हजार रहेको छ भने कोराला देखि काठमाडौं सामग्री ल्याउदा ढुवानीभाडा २ लाख ५० हजार रहेको छ ,’ पौडेलले इक्विटी नेपालसँग भने,‘ ढुवानी भाडा बढ्दा बजारमा सामग्रीको मूल्य बढ्ने निश्चित रहेको छ । त्यसैले यसको सही समयमा व्यवस्थाप नभए उपभोक्ता महँगीको मारमा पर्ने निश्चित रहेको छ ।’ यता मन्त्रालयले भने नाका लामो समय बन्द नहुने र आवश्यक पहल गरिने जनाएको छ ।
भन्सार विभागका अनुसार तातोपानी नाकाबाट सबैभन्दा धेरै विद्युतीय सवारी साधन, तयारी कपडा, जुत्ता, सवारी साधनका पाटपूर्जा, प्लास्टिक सामान, फलाम र फलामका सामान, होजियारी कपडा, स्वास्थ्य औजार र उपकरण, बटम जिपर, उन तथा उनको धागो, सिन्थेटिक जेनिस कपडा, स्याउ, लसुन, जीम तथ खेलका सामान, ब्याग, काँच तथा काँचका सामान, ड्राईफुडलगायतका मालवस्तु आयात हुने गरेको छ।
बाढीपहिरो, भन्सार नाका बेलाबेलामा हुने गैरकानुनी गतिविधि तथा छिटोछिटो हुने कर्मचारीको फेरबदल, जीर्ण सडक तथा सरकारले छिटोछिटो परिवर्तन गर्ने भन्सार नीतिले व्यापारमा नकारात्मक प्रभाव परेको देखिन्छ। पछिल्लो समय सरकारले अधिकतम खुद्रा मूल्य (एमआरपी) लागु गरेपछि आयात व्यापारमा थप नकारात्मक असर परेको व्यवसायीहरू बताउँछन्। एमआरपी लागु गर्न नसक्ने भन्दै व्यवसायीले सरकारले गरेको घोषणा पूर्ण रुपमा मानेका छैनन्। तर सरकारले जसरी पनि आफूले आयात गरेको वस्तुको बजारमा बिक्री वितरण गर्नु अगावै एमआरपी, ब्राण्ड र उपभोग्य मितिसहितका विवरणको ‘लेबल’ टाँस्नुपर्ने अनिवार्य गरेको छ।
तर चीनबाट आयात हुने खुद्रा वस्तुमा लागु गर्न नसक्ने भनाई व्यवसायीको रहेको छ। यसले मालवस्तु आयात गर्दा अप्ठेरो पर्ने डर व्यवसायीलाई रहेको छ। त्यसैले दशैंको सामान अर्डर गर्न धेरै व्यवसायीहरू चीन गएका छैनन्। ‘ठूलो परिणाममा सामान आयात गर्न व्यवसायीहरू आफैं चीनको विभिन्न सहरमा जाने गरेका छन्,’ कार्कीले भने , ‘यस पटक निकै कम संख्यामा मात्र व्यवसायी चीन गएका छन्। तर रसुवा बाढी पछि भने तातोपानी नाका विकल्प बन्न निश्चित रहेको छ ।’
सामान ल्याएपछि सरकारले अनेक झमेला लगाउने आशंकामा व्यवसायी त्रसित हुन थालेको अध्यक्ष कार्कीले बताए। एकातिर सामान बिक्री घट्दै गएको छ भने सरकारी नीति र सीमा क्षेत्रमा हुने बन्दले सहज रूपमा व्यापार हुन नसकेको व्यवसायीहरूको भनाइ छ।



