RE
Global College

विकल पौडेल र श्रीमती एलिना बस्नेत उपर करोडौं विदेशी विनिमय अपचलन मुद्धा दायर

काठमाडौं । राजस्व अनुसन्धान विभागले सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेल र उनकी पत्नी एलिना बस्नेत विरुद्ध झण्डै २ अर्ब रुपैयाँबराबर जरिवाना माग गरी काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।

पौडेलले गैरकानुनी रूपमा विदेशी बैंकमा रकम जम्मा गरेको पुष्टि भएकोले विदेशी विनिमय अपचलनसम्बन्धी मुद्दा दायर गरेको विभागले जनाएको छ।

यसअघि अख्तियार दुरुपयोग आयोगको अनुसन्धानले पौडेलले नेपाल राष्ट्र बैंकको अनुमति नलिई विदेशी बैंकमा खाता खोलेको, घुस र कमिसनवापतको रकम सोही खातामा जम्मा गर्न लगाउने र श्रीमतीको नाममा पठाउने गरेको फेला पारेको थियो। अख्तियारले थप अनुसन्धान गर्न विभागमा पत्राचार गरेको थियो। पौडेलले भ्रष्टाचार गरी आर्जन गरेको रकमले श्रीमती बस्नेतलाई घर खरिद गरेका आरोप समेत रहेको छ । सन् २०२१ सेप्टेम्बर २४ मा भने उनले श्रीमती एलिना बस्नेतको नाममा अमेरिकाको टुलिपवुडमा घर खरिद समेत गरेका छन् । उनले पाँच लाख १५ हजार अमेरिकी डलरमा उक्त घर खरिद गरेको पाइएको छ ।

विभागको अनुसन्धानबाट पौडेलले ६१ करोड १३ लाख २१ हजार रुपैयाँबराबर रकम अपचलन गरेको देखिएको छ। विभागले यस बिगो रकमको तीन गुणाले हुने १ अर्ब ८३ करोड ३९ लाख ६३ हजार रुपैयाँ जरिवाना हुनुपर्ने माग गरेको छ।

श्रीमती एलिना बस्नेत पनि विकल पौडेलका अवैध कारोबारमा संलग्न देखिएकोले उनका नाममा १ करोड ५२ लाख ७० हजार रूपैयाँ बिगो कायम गरिएको छ। उनलाई ४ करोड ५८ लाख १२ हजार रूपैयाँ जरिवाना हुनुपर्ने अभियोगपत्रमा उल्लेख छ।

Leave Your Comment

Related News