RE
Global College

चिसोले जनजीवन प्रभावित

महोत्तरी । लगातार चिसो सिरेटो बहिरहेर चारैतिर बाक्लो हुस्सुले डम्म ढाकेपछि महोत्तरीसहितका मधेसमा जाडो बढेको छ । मङ्सिर अन्तिम साताको प्रारम्भसँगै मौसम चिसिँदै गएपछि यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । धमाधम खेतीपाती लगाउने बेला मौसम चिसिँदै गएपछि काम अघि नसर्दा किसान विलखबन्दमा परेका छन् ।

“गहुँ छर्ने अन्तिम तयारी गर्नुछ, अब उखु कटानको काम धमाधम पर्छ, हिउँदेबाली लगाउन भ्याइनभ्याइ पर्ने बेला घरबाट निस्कन सकिएको छैन”, बर्दिबास–१३ का ठकाइ महतोले भने, “पुस नलाग्दै बढेको ठिहीले काम सबै असरल्ल छन् ।” चिसोले हातगोडा कठ्याङ्ग्रिएर कुनै काममा हात नलाग्दा समयमा खेतीपातीका काम नसकिने चिन्ताले किसानलाई पिरोलेको छ ।

महोत्तरीसहितका मधेसमा हुस्सु र चिसोको कहर छ । पुस पहिलो सातापछि बढ्ने हुस्सु केही वर्षयता मध्य मङ्सिरदेखि नै डम्म लाग्ने गरेको जलेश्वर–५ का ७५ वर्षीय किसान रहिमन मण्डलले बताए । मङ्सिरभित्रै बढेको ठिहिर्याउने चिसोले घरपालुवा पशुवस्तुको बिजोग छ । पशुवस्तुको आहाराको जोहो र चरनमा लान नपाइँदा बिजोग भएको हो ।

जाडोले बालबालिका, वृद्धवृद्धा, गर्भवती र सुत्केरी बढी प्रभावित बनेका छन् । खासगरी श्वासप्रश्वासका बिरामीलाई यो मौसमले बढी च्याप्ने हुँदा स्याहारमा ध्यान दिनुपर्ने बर्दिबास अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुदीप ठाकुरले बताए ।

NECO

Leave Your Comment

Related News