थप २६ हजार ऋणी कालो सूचीमा

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ऋण तिर्न नसकेर साउनयता २६ हजारभन्दा बढी ऋणी कालो सूचीमा परेका छन् । कर्जा सूचना केन्द्रको तथ्याङ्कअनुसार साउन १ देखि माघ १४ गतेसम्म २६ हजार ६०५ जना व्यक्ति कालो सूचीमा परेका छन् । यसमध्ये २ हजार ४२५ जनाले ऋण चुक्ता गरी कालो सूचीबाट हटेका छन् । बाँकी २४ हजार १८० जना अझै कालो सूचीमा कायम छन् ।

यस्तै हालसम्म कालो सूचीमा कायम व्यक्तिहरूको संख्या १ लाख १३ हजार ४१३ छ । यसमध्ये क, ख र ग वर्गका वित्तीय संस्थाको ऋण तिर्न नसकेर हालसम्म कालो सूचीमा कायम रहनेहरूको संख्या १ लाख ६९०२ छ । २०८१ असार मसान्तसम्म कालो सूचीमा परेकामध्ये ८९ हजार २३३ जना अहिले पनि कालो सूचीमै कायम छन् ।

यस्तै लघुवित्त वित्तीय संस्थाका २ हजार ४९६ ऋणी पनि कालो सूचीमा परेका छन् । यो तथ्याङ्क साउन १ देखि माघ १४ गतेसम्मको हो । हालसम्म लघुवित्तबाट ऋण लिएकाहरूमध्ये ६ हजार ५११ जना कालो सूचीमा कायम छन् । अहिले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने ऋणीहरुको कुल संख्या करिब १८ लाख हाराहारी छ । यसमध्ये करिब ६ प्रतिशत ऋणी कालो सूचीमा परेका छन् । उनीहरुले बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा भुक्तानी गर्न नसक्दा कालो सूचीमा परेका हुन् । अर्थतन्त्र चलयामान हुन नसक्दा ऋणीहरुले कर्जा भुक्तानी गर्न नसक्दा समस्यामा परेका छन् । बैंक तथा वित्तीय संस्थाले दबाब दिने तर हाल ऋणीहरुले कर्जा भुक्तानी गर्न नसक्ने अवस्था रहेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार