CLI
Global College

सिमरा घटनाबारे ओलीले बोलेको भिडिओ हटाउन फेसबुक पेजलाई प्रेस काउन्सिलको पत्र

काठमाडौं । प्रेस जगतको नियमकारी संस्था प्रेस काउन्सिलले पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीको एउटा भिडिओ हटाउन फेसबुक पेजहरुलाई निर्देशन दिएको छ ।

‘मेरो न्युज डटकम’ लगायतका पेजहरूलाई काउन्सिलले पत्र पठाएर उक्त भिडिओ सम्पादन गर्न वा स्थगन गर्न भनेको छ । ओलीको अभिव्यक्तिबाट सानो अंश काटेर उत्तेजना फैलाउन खोजिएकाले यस्तो निर्णय गरिएको काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले बताए ।

उनले नेपाल प्रेससँग भने, ‘पूरै भिडिओ हाल्नेहरूलाई हामीले काटेका छैनौं । तर, उत्तेजक अभिव्यक्तिको अंशमात्र काटेर रिल्समा हाल्नेहरूलाई त्यो सम्पादन गर्न वा हटाउन भेका हौँ ।’

ओलीले सिमरा घटनाबारे टिप्पणी गरेको भिडिओलाई लिएर काउन्सिलले आपत्ति जनाएको हो ।

प्रेस काउन्सिलको पत्रमा ‘सिमरा घटनाबारे ओली’ शीर्षक दिएर उत्तेजक अभिव्यक्तिलाई स्थान दिइ फेसबुकबाट सामग्री सम्प्रेषण भएको स्वअनुगमनबाट पाइएको उल्लेख छ ।

पत्रमा भनिएको छ, ‘सामाजिक सञ्जाल (फेसबुक पेज/रिल) बाट सम्प्रेषित आचारसंहिता प्रतिकुलका उक्त उत्तैजक एवं हिंसालाई बढावा दिने किसिमको सामग्री सम्पादन गरी वा स्थगत गरी २४ घन्टाभित्र काउन्सिललाई जानकारी गराउन निर्देशन दिइन्छ । साथै, आगामी दिनमा आचारसंहिता प्रतिकुल हुने यस्ता सामग्रीलाई स्थान नदिनेतर्फ सजगता अपनाउन समेत निर्देशानुसार सचेत गराइन्छ ।’

पत्रमा ओलीको अभिव्यक्तिको कुन अंश सम्पादन गर्ने भन्ने उल्लेख गरिएको छैन । बुझिएअनुसार ओलीले ‘एमालेमाथि हमला हुन्छ भनेर एमालेले फनक्क फर्केर जवाफ दिन्छ’ भनेकोलाई काउन्सिलले उत्तेजक ठहर्‍याएको हो ।

काउन्सिलको यो पत्रलाई लिएर एमाले निकट पत्रकारहरूको संगठन प्रेस चौतारीले आपत्ति जनाएको छ । यो पत्रलाई प्रेस स्वतन्त्रमाथिको आक्रमण भन्दै प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेले सच्याउन आग्रह गरेका छन् ।

विज्ञप्ति जारी गर्दै पाण्डेले भनेका छन्, ‘प्रेस काउन्सिल नेपालले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको भाषण प्रसारण गरेको विषयमा एउटा अनलाइनलाई पत्र काटेको विषयमा प्रेस चौतारी नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । सार्वजनिकरूपमा देशका पूर्वप्रधानमन्त्रीले दिएको मन्तव्य प्रकाशन र प्रसारण गर्नु प्रेसको धर्म र दायित्व हो, हामी प्रेस स्वतन्त्रताविरोधी यस्ता हर्कत तत्काल सच्चाउन प्रेस काउन्सिल नेपालसँग आग्रह गर्दछौँ ।’

Leave Your Comment

Related News