CLI
Global College

सुन्तलाको उत्पादन बढेपछि पूर्वी पहाडका किसान उत्साहित

सुनसरी । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलगायत जिल्लामा उत्पादित सुन्तला धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा ठूलो परिमाणमा भित्रिन थालेको छ।

धरान कृषि बजार व्यवस्थापन समितिका अनुसार यस वर्ष कात्तिक–मङ्सिरमै गत वर्षको तुलनामा करिब २५ प्रतिशत बढी सुन्तला बजारमा आएको छ। सुन्तलाको कारोबार पनि करिब ३० प्रतिशतले बढेको छ। पछिल्लो समय सुन्तलाखेती विस्तार हुनु र मौसम अनुकूल रहनु उत्पादन वृद्धि हुनुका मुख्य कारण मानिएको छ। कात्तिक १५ देखि चैतको दोस्रो सातासम्म सुन्तला बजारमा आउने गर्छ।

भोजपुरका किसान प्रदीप राईका अनुसार यस वर्ष उत्पादन राम्रो भएकाले मूल्य यथावत रहे पनि आम्दानी बढ्ने अपेक्षा छ। व्यापारीहरूका अनुसार फल लाग्ने समयमा मौसम अनुकूल रहेकाले रोग र कीराको समस्या कम देखिएको थियो। पछिल्ला चार वर्षदेखि सुन्तलाको मूल्य भने स्थिर नै छ। हाल आकारअनुसार प्रतिकिलो ३० देखि ८० रुपैयाँसम्म किसानस्तरमा कारोबार भइरहेको छ भने बजारमा ७० देखि ८० रुपैयाँमा बिक्री भइरहेको छ।

धरान कृषि बजारबाट हाल दैनिक ३०–४० मेट्रिक टन सुन्तला कारोबार भइरहेको छ। गत वर्ष करिब पाँच हजार मेट्रिक टन सुन्तलाबाट ६० करोड रुपैयाँको कारोबार भएको थियो भने यस वर्ष करिब २० हजार मेट्रिक टन बिक्री हुने अनुमान गरिएको छ।

Leave Your Comment

Related News