CLI
Global College

काठमाडौं महानगरपालिकाको बजेट: खर्च र आम्दानीको समीक्षा, संशोधन प्रस्ताव पेश

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नगरसभाको १८औँ अधिवेशनमा चालू आर्थिक वर्ष २०८२/०८३ को बजेटको समीक्षा र संशोधन प्रस्ताव प्रस्तुत गरेकी छन् । उनले बजेटको खर्च, आम्दानी र आगामी योजनाबारे विस्तृत विवरण प्रस्तुत गर्दै नगरसभा सदस्यहरूलाई जानकारी गराइन्।

डंगोलले १७ औँ अधिवेशनमा स्वीकृत बजेट अनुसार चालू आर्थिक वर्षका लागि कूल रु २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार विनियोजन गरिएको र हालसम्म कुल ४ अर्ब ६४ करोड ३४ लाख ७१ हजार खर्च भइसकेको बताइन् । यसअनुसार कुल खर्चको १८.४८ प्रतिशत मात्र खर्च भएको छ। चालू खर्च २८.४४ प्रतिशत, पूँजिगत खर्च १२.३९ प्रतिशत रहेको छ।

विभागगत विवरणमा पूर्वाधार विकासमा १४.०१ प्रतिशत, आर्थिक विकासमा १५.१५ प्रतिशत, सामाजिक विकासमा १६.२२ प्रतिशत, र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा १२.०६ प्रतिशत खर्च भएको देखिन्छ । कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा सबैभन्दा बढी ४५.९९ प्रतिशत खर्च भएको छ।

वडा कार्यालय अनुसार, वडा नं. ७ सबैभन्दा बढी खर्च गरेको छ। सो वडाले चालू खर्चमा २४.९२ प्रतिशत र पूँजिगत खर्चमा ३२.३३ प्रतिशत खर्च गरी कुल ३१.५३ प्रतिशत खर्च गरेको छ। अन्य वडाहरूमा वडा नं. १६, २३, १४ र १९ ले क्रमशः २६.१४ प्रतिशत, २३.३१ प्रतिशत, २१.९२ प्रतिशत र १९.६५ प्रतिशत खर्च गरेको डंगोलले जानकारी दिइन् ।

आम्दानीतर्फ कुल लक्ष्य रु १५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रहेकोमा पुस ९ गतेसम्म ४ अर्ब २१ करोड १३ लाख ६७ हजार संकलन भएको छ। यसमा आन्तरिक आय २ अर्ब ६७ करोड ७३ लाख ८८ हजार, राजश्व बाँडफाँडबाट ७७ करोड ९९ लाख ८० हजार, र संघ तथा प्रदेश सरकारबाट सशर्त अनुदान ७५ करोड ३९ लाख ९८ हजार रहेको छ।

सुनिता डंगोलले कर संकलनमा सकारात्मक प्रगति भए पनि कर दायरा बढाउन र कर बुझाउने करदातालाई प्रोत्साहन गर्न १० प्रतिशत छुट जस्ता उपायहरूको प्रयोग गर्न आग्रह गरेकी छन्।

आवश्यक संशोधन प्रस्ताव प्रस्तुत गर्दै उनले भनेकी छन् कि चालू वर्षका कार्यक्रमहरूमा केही हेरफेर आवश्यक भएको छ। संशोधन अनुसार आर्थिक विकासको क्षेत्रमा ६७ करोड ६३ लाख ४ हजार, कार्यालय संचालन तथा प्रशासनिक क्षेत्रमा ३ अर्ब १२ करोड ३७ लाख १४ हजार, पूर्वाधार विकासमा १२ अर्ब ९ करोड ४५ लाख ६० हजार, सामाजिक विकासमा ५ अर्ब ८० करोड ४१ हजार, र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा ३ अर्ब ४१ करोड ९७ लाख २२ हजार विनियोजन प्रस्ताव गरिएको छ।

Leave Your Comment

Related News