काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक २७.४९ अंकले बढेको छ । बजार २७४५.६५ विन्दुमा पुगेरा बन्द भएको छ ।
त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.२४ अंक, फ्लोट इण्डेक्स १.८८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२४ अंकले बढेका छन् ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। बिहीबार २ अर्ब ९३ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३५ स्टकको ५३ हजार १४ पटकको कारोबारमा ३ अर्ब २८ करोड ६८ लाख ७० हजार रुपैयाँबराबरको ७४ लाख ७८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये १२ उपसमूहमा वृद्धि देखिएको छ भने व्यापार उपसमूह स्थिर रहेको छ। वित्त उपसमूह सर्वाधिक १.८७ प्रतिशतले बढ्दा होटल तथा पर्यटन, जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र अन्य उपसमूहमा पनि १ प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ ।
यस दिन त्रिशूली जलविद्युत कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्दै सर्वाधिक वृद्धि गर्ने कम्पनी बनेको छ । होटल फरेष्ट इनको सेयर करिब ८ प्रतिशत र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको सेयर ६ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
यता, स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने सबैभन्दा बढी ६.५४ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा होटल फरेष्ट इन शीर्ष स्थानमा रह्यो, जसको करिब १३ करोड ८६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यसपछि रिलायन्स स्पिनिङ्ग मिल्स र सोलु हाइड्रोपावर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।


