CLI

मध्यपूर्वमा जारी द्वन्दका कारण टोयोटाले उत्पादन कटौती गर्दै, निर्यात ९२ प्रतिशतले घट्यो

काठमाडौं ।  मध्यपूर्वमा जारी द्वन्द्व र आपूर्ति अवरोधको असर विश्व अटोमोबाइल उद्योगमा देखिन थालेको छ। जापानी अटो निर्माता टोयोटा मोटरको विश्वव्यापी बिक्री अप्रिल महिनामा लगातार तेस्रोपटक घटेको छ ।

कम्पनीका अनुसार सहायक कम्पनी डाइहात्सु मोटरसहित अप्रिलमा टोयोटाको विश्वव्यापी बिक्री ३.७ प्रतिशतले घटेर ९ लाख २ हजार १५ युनिटमा सीमित भएको छ। यद्यपि उत्पादन भने ३.४ प्रतिशतले बढेर ९ लाख ३३ हजार ६ सय ८५ युनिट पुगेको छ।

मध्यपूर्व तनावका कारण होर्मुज जलसन्धिमार्फत हुने आपूर्ति प्रभावित हुँदा टोयोटाको उक्त क्षेत्रमा हुने निर्यातमा ठूलो गिरावट आएको छ। कम्पनीको मध्यपूर्व निर्यात वार्षिक आधारमा ९२ प्रतिशतले घटेर मात्र २ हजार ४ सय १८ सवारीसाधनमा सीमित भएको छ।

टोयोटाले यसअघि वार्षिक रूपमा मध्यपूर्वमा करिब ५ लाखदेखि ६ लाखसम्म सवारीसाधन निर्यात गर्ने गरेको जनाएको थियो । कम्पनीले क्षेत्रीय द्वन्द्वका कारण त्यसको झन्डै आधा निर्यात प्रभावित हुने अनुमान गरेको छ। चीनमा समेत जापानी सवारी कम्पनीहरूका लागि बजार चुनौतीपूर्ण बन्दै गएको छ । अप्रिलमा टोयोटाको चीन बिक्री २५ प्रतिशतले घटेको छ ।

अन्य जापानी कम्पनीहरू पनि दबाबमा परेका छन्। होन्डा मोटरको विश्वव्यापी बिक्री ७.९ प्रतिशतले घटेर २ लाख ६५ हजार २ सय १५ युनिटमा पुगेको छ भने निसान मोटरको बिक्री ७.६ प्रतिशतले घटेर २ लाख ८ हजार ६ सय ६३ युनिटमा सीमित भएको छ।

टोयोटाले इरान युद्धका कारण कच्चा पदार्थको लागत बढ्ने र आपूर्ति शृंखलामा समस्या आउने अनुमान गर्दै आगामी आर्थिक वर्षमा नाफा घट्ने प्रक्षेपणसमेत गरेको छ। कम्पनीले सन् २०२७ मार्चसम्मको अवधिका लागि सञ्चालन नाफा ३ ट्रिलियन येन रहने अनुमान गरेको छ, जुन अघिल्लो वर्षको ३.८ ट्रिलियन येनभन्दा कम हो।

कम्पनीका आपूर्तिकर्ताहरूले समेत इरान द्वन्द्वका कारण पार्टपुर्जा अभाव देखिन थालेको चेतावनी दिएका छन् । क्षेत्रीय तनावका कारण उत्पन्न आपूर्ति समस्या र ढुवानी अवरोधले टोयोटालाई ठूलो आर्थिक असर पर्ने अनुमान गरिएको छ ।

जापानी सञ्चारमाध्यम निक्केईका अनुसार टोयोटाले क्षेत्रीय तनावका कारण सिर्जित ढुवानी समस्याबाट प्रभावित हुँदै विदेश उत्पादन कटौतीलाई बढाएर करिब ८३ हजार युनिटसम्म पुर्याउने योजना बनाएको छ ।

Leave Your Comment

Related News