काठमाडौं । भन्सार छली र जाँचपास प्रक्रियामा मिलेमतो गरिएको आशंकामा सरकारले नियन्त्रणमा लिएका ७७४ वटा सवारीसाधन फुकुवा गरेको छ। मुस्ताङ जिल्ला प्रशासन कार्यालयका अनुसार सोमबार दिउँसोदेखि सम्बन्धित बिक्रेता कम्पनीहरूले ती गाडी भित्र्याउन थालेका छन्।
मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी एकनारायण भण्डारीका अनुसार बजेट सार्वजनिक भएपछि सशस्त्रको नियन्त्रणमा रहेको गाडीहरु छुटेका छन् । नियन्त्रणमा रहेको गाडीहरु सीमित रहेका छन् त्यो पनि लैजाने क्रममा रहेको उनले बताए ।
कोरला नाकाबाट आयात गरिएका ती सवारीसाधन बिवाइडीको आधिकारिक बिक्रेता कम्पनी साइमेक्स इंकले भित्र्याएको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशनपछि नेपाल प्रहरीले ती गाडी नियन्त्रणमा लिएको थियो।
गाडी आयात प्रक्रियाबारे उठेका प्रश्नपछि अर्थ मन्त्रालय र भन्सार विभागले संयुक्त रूपमा छानबिन गरेका थिए। सरकारले भन्सार प्रतिनिधि भूपालराज शाक्य र अर्थ मन्त्रालयका नीरन भट्टराईसहित नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका प्रतिनिधि सम्मिलित समिति गठन गरेको थियो। समितिले सरकारलाई बुझाएको प्रारम्भिक प्रतिवेदनमा आयात प्रक्रिया कानुनअनुसार भएको र कुनै अनियमितता नदेखिएको निष्कर्ष प्रस्तुत गरेको छ।
यसअघि जेठ २७ र २८ गते बसेको संसदीय समितिको बैठकमा अर्थमन्त्री, अर्थसचिव तथा भन्सार विभागका महानिर्देशकले पनि कोरला नाकाबाट आयात गरिएका गाडीको जाँचपास प्रक्रियामा कुनै त्रुटि नभएको बताएका थिए।
छानबिनबाट अनियमितता पुष्टि नभएपछि नियन्त्रणमा रहेका सवारीसाधन फुकुवा गरिएको हो। यद्यपि अर्थ मन्त्रालयले यस विषयमा प्रधानमन्त्री कार्यालयको निर्देशनअनुसार आवश्यक प्रक्रिया अघि बढाउन कोरला भन्सार कार्यालयलाई निर्देशन दिएको थियो।


