काठमाडौं । धितोपत्र दलाल (ब्रोकर) कम्पनीहरुले मार्जिन कारोबार विस्तारका लागि बैंक कर्जा जुटाउने प्रक्रिया तीव्र बनाएका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका–२०८२ लागू गरेपछि ठूला ब्रोकर कम्पनीहरु बैंकसँग ऋण सुविधा लिने, क्रेडिट रेटिङ्स गराउने तथा आवश्यक पूर्वाधार विस्तारमा जुटेका हुन् ।
हालसम्म नासा सेक्युरिटिज, भिजन सेक्युरिटिज र त्रिशक्ति सेक्युरिटिजले बैंक कर्जाका लागि क्रेडिट रेटिङ्स गराइसकेका छन् । तीनै कम्पनीले मार्जिन कारोबारलाई आगामी व्यवसाय विस्तारको प्रमुख आधारका रुपमा लिएका छन् । यी कम्पनीको रेटिङ्स प्रतिवेदनले अहिलेको आम्दानीको मुख्य स्रोत रहेको ब्रोकरेज कमिसनबाट मात्र दीर्घकालीन वृद्धि सम्भव नभएको हुँदा मार्जिन कारोबारमार्फत ब्याज आम्दानी बढाउने तयारी भइरहेको जनाएको छ ।
सबैभन्दा ठूलो तयारी नासा सेक्युरिटिजले गरेको देखिन्छ। कम्पनीले करिब ३ अर्ब रुपैयाँ बराबरको बैंक कर्जाका लागि केयर रेटिङ्स नेपालबाट दीर्घकालीनतर्फ केयर एनपी ए माइनस तथा अल्पकालीनतर्फ केयर एनपी ए२ प्लस रेटिङ्स प्राप्त गरेको छ । कम्पनीले उक्त बैंक कर्जा मुख्य रुपमा मार्जिन कारोबार विस्तारमा उपयोग गर्ने जनाएको छ ।
भिजन सेक्युरिटिजले पनि १ अर्ब ५० करोड रुपैयाँ बराबरको अल्पकालीन बैंक कर्जाका लागि केयर एनपि ए२ रेटिङ पाएको छ। कम्पनीले बैंकबाट कर्जा स्वीकृतिको प्रक्रिया अन्तिम चरणमा पुगेको र त्यसपछि मार्जिन कारोबार सञ्चालन गर्ने तयारी गरेको जनाएको छ। यसैबीच, त्रिशक्ति सेक्युरिटिजले अल्पकालीन बैंक कर्जाका लागि केयर एनपि ए३ प्लस रेटिङ्स प्राप्त गरेको छ। कम्पनीले डेढ अर्ब रुपैयाँ कर्जाका लागि रेटिङ गराएको हो । यसले पनि मार्जिन कारोबार सुरु भएपछि ब्याज आम्दानीमार्फत व्यवसाय विस्तार गर्ने योजना अघि सारेको छ।
केयर रेटिङ्सका अनुसार तीनै कम्पनीको व्यवसायिक आधार बलियो रहे पनि आगामी वृद्धि मार्जिन कारोबारको विस्तारसँग जोडिएको छ । हाल उनीहरुको अधिकांश आम्दानी धितोपत्र खरिद–बिक्रीमा प्राप्त हुने ब्रोकरेज कमिसनबाट हुने भएकाले मार्जिन कर्जाबाट प्राप्त हुने ब्याज आम्दानी नयाँ आयस्रोत बन्ने अपेक्षा गरिएको छ।
नासा सेक्युरिटिज हाल कारोबार रकमका आधारमा अग्रणी ब्रोकरमध्ये पर्छ । चालु आर्थिक वर्षको मध्य अप्रिलसम्म कम्पनीले करिब ६.५ प्रतिशत बजार हिस्सा कायम गरेको छ। आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको कुल कारोबार २ खर्ब ६० अर्ब रुपैयाँभन्दा बढी पुगेको थियो भने सञ्चालन आम्दानी ८३ करोड ४० लाख रुपैयाँ र खुद नाफा ३१ करोड २० लाख रुपैयाँ रहेको केयर रेटिङ्सको प्रतिवेदनमा उल्लेख छ।
कम्पनीले यसअघि सीमित रुपमा मार्जिन कारोबार गर्दै आए पनि नयाँ निर्देशिकापछि यसको दायरा विस्तार गर्ने तयारी गरेको छ। भिजन सेक्युरिटिज पनि बजारका ठूला ब्रोकरमध्ये पर्छ । चालु आर्थिक वर्षको पहिलो ९ महिनामा कम्पनी ३.४८ प्रतिशत बजार हिस्सासहित कारोबारका आधारमा दोस्रो स्थानमा पुगेको छ। कम्पनीसँग करिब १ लाख ३८ हजार सक्रिय ग्राहक छन् । आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको सञ्चालन आम्दानी ४१ करोड ८० लाख रुपैयाँ र खुद नाफा २२ करोड १० लाख रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ ।
त्रिशक्ति सेक्युरिटिजले पनि पछिल्ला वर्षहरुमा आफ्नो बजार उपस्थिति विस्तार गरेको देखिन्छ। चालु आर्थिक वर्षको पहिलो नौ महिनामा कम्पनीको बजार हिस्सा २.९ प्रतिशत पुगेको छ। सक्रिय ग्राहक संख्या करिब ६८ हजार रहेको कम्पनी अघिल्लो वर्ष ११औँ स्थानमा रहेकामा यस वर्ष छैटौँ स्थानमा उक्लिएको केयर रेटिङ्सले जनाएको छ।
तीनै कम्पनीको पूँजी संरचना, तरलता, आन्तरिक नियन्त्रण प्रणाली तथा व्यवस्थापनलाई सकारात्मक पक्षका रुपमा उल्लेख गरेको छ। नासाको आफ्नै डिजिटल ब्रोकरेज प्रणाली र जोखिम व्यवस्थापन संरचना, भिजनको आन्तरिक नियन्त्रण प्रणाली तथा त्रिशक्तिको संस्थागत सुशासन र अनुभवी व्यवस्थापनलाई रेटिङका आधारमध्ये एक मानिएको छ।
ब्रोकर कम्पनीहरु मार्जिन कारोबार विस्तारतर्फ अग्रसर हुनुमा पछिल्ला नीतिगत परिवर्तनलाई पनि प्रमुख कारण मानिएको छ। सेबोनले फागुन १ गतेदेखि मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका लागू गरेको थियो। त्यसपछि नेपाल राष्ट्र बैंकले मार्जिन कर्जासम्बन्धी केही व्यवस्था सहज बनाएको छ।
हाल नेपाल स्टक एक्सचेन्जमा सूचीकृत ९२ ब्रोकर कम्पनीमध्ये ३१ वटाले मात्र मार्जिन कारोबार सञ्चालनको अनुमति पाएका छन्। तर पूर्ण रुपमा सेवा विस्तार गर्न भने अधिकांश कम्पनीले अझै बैंक वित्तपोषण र आवश्यक पूर्वाधार तयार गरिरहेका छन्। यद्यपि केयर रेटिङ्सले तीनै कम्पनीको आम्दानी अझै पनि शेयर कारोबारको मात्रा र बजारको अवस्थामाथि निर्भर रहेको जनाएको छ।
कारोबार घटे, लगानीकर्ताको सहभागिता कमजोर भयो वा नियामकीय व्यवस्था परिवर्तन भए कम्पनीहरुको आम्दानीमा असर पर्ने जोखिम कायमै रहेको प्रतिवेदनमा उल्लेख छ। त्यसैले मार्जिन कारोबारबाट हुने आय विस्तारले मात्र ब्रोकर कम्पनीहरुको व्यवसाय थप स्थायी र विविध बन्न सक्ने केयर रेटिङ्सको निष्कर्ष छ।


